मङ्सिर ४ को कथित चुनाव बिरुद्धमा रहनुको गुदी कुराहरू
– कुमार लिङ्देन ‘मिराक’

Comments Off

kumar Lingden 4

आन्दोलनलाई निरन्तरता दिने बाटो रोज्यौं: 

जब ४ दलले सेना परिचालन गर्ने निर्णय गर्यो, त्यसबेला नै हामीलाई थाहा भयो कि यिनीहरूले कुनै न कुनै रूपको चुनाव गर्ने परे | संविधान सभाजस्तो चुनावमा सरोकार वालाहरू सबै सहभागी हुनुपर्छ | यो समाधान को चुनाव हुनुपर्छ |  द्वन्दको कारक चुनाव हुनु हुँदैन भन्ने कुराको कुनै मत्लव नगरी छिटो चुनाव गरेर राष्ट्रपति, प्रधानमन्त्री पद प्राप्त गर्ने ध्येयले चार दल अगाडि बढ्यो |

त्यसबेला हाम्रोअघि दुईटा बाटोहरू देखा परे-

पहिलो बाटो:

चार दलले जे भन्छ, त्यो खुरुखुरु मानेर चुनावमा जानु, केही सभासद पठाउनु, महिनाको ७० हजारको दरले सभासद भत्ता खानु, सभासदको भत्ता खान थालेपछि आन्दोलनको डिग्री त घटाउनै पर्यो | अनि दुई वर्षपछि ‘‘ल ,संबिधान त बनेन, लिम्बुवान त आएन, फेरि आन्दोलन चर्काउनु पर्यो ’’   भनेर लिम्बुवानी युवा, जनताहरू माझ आन्दोलनको आगो फुक्ने कोसिस गर्नु |

त्यो बाटो त हामीले पहिल्यै  पाँच वर्ष हिंडी सक्यौं | थाहा पायौं- एकपल्ट आन्दोलन सुस्ताई सकेपछि पुन: उठाउन कति गाह्रो पर्दो रहेछ | अर्को महत्वपूर्ण कुरा थाहा पायौं– आखिरी लिम्बुवान, तमुवान…. लगातयको लागि हामी आफै नलडी नहुने रहेछ | आन्दोलन नै यसको अन्तिम विकल्प रहेछ | प्रचण्डहरूले घोषणा-पत्रमा लिम्बुवान, मगरात लेख्दा रहेछन् | तर, त्यो प्राप्तिको लागि त एकदिन आन्दोलन नगर्दा रहेछन्, छलफलको टेबलमा राख्नेसम्म हो, तर अडान नराख्दा  रहेछन् | अडान राखेर पो के हुन्छ र ? संविधान बन्न दुई-तिहाई चाहिन्छ, जो कुनै एउटा पार्टीले ल्याउनै सक्दैन | त्यसैले, हामीले प्रस्ताव गरेको स्वायत्त राज्यहरूमा आ-आफ्नै बल बुँतामा स्थानीय आन्दोलनहरू विकसित गर्न सकियो भने  ढिलोचाडो एमाले, कांग्रेस, एमाओवादीहरूलाई बाध्य पार्न सक्दा रहेछौं | तर,  मगरात वा तमुवान आन्दोलन नै छैन भने कसरी बाध्य पार्न सकिदो रहेछ र ?

त्यसैले, लिम्बुवानदेखि तमुवानसम्मको प्राप्ति भनेको ती सबै राज्यहरूमा  सशक्त स्थानीय लिम्बुवानी, तमुवानी आन्दोलनहरू सृजना गर्नुपर्छ र ठुला भनिएका सबै दलहरूलाई त्यो मुद्दामा आउन बाध्य पार्नु पर्छ |  तर कुनै एउटा  व्यक्ति वा पार्टीलाई मुक्तिदाता मानेर हिंड्नु जति ठुलो भ्रम यो संसार मा केही छैन रहेछ |

यो गुदी कुरा बुझियो | र, कुनै पार्टीसंग नजिक र कसैसंग टाढा रहेर होइन बरु सबै पार्टीलाई घुँडा टेकाउने स्थानीय आन्दोलन  विकसित गर्दै जानु नै सबैभन्दा उत्तम बाटो रहेछ |

दोस्रो बाटो:

सभासदको भत्ता, जिल्ला विकास समितिहरूमा प्रतिनिधित्वका सवालहरूलाई केही दिन थाँती राखेर अहिले उठिरहेको आन्दोलनलाई क्रमश: निरन्तर रूपमा अघि बढाउने | पुरै आन्दोलनको आगो बाल्न सकिएन भने पनि आन्दोलनको तातोपन (liveliness) लाई बचाउने | यसो गर्नु निकै गाह्रोचाहिं हुन्छ किनकि हाम्रा समर्थकहरूको एक तहको दिमागलाई यो कथित चुनावले खलबल पुर्याई दिन्छ | किनकि, अझै पनि गाउँघरको राजनीति, नीति, सिद्दान्तले भन्दा पनि अरु नै कुराहरूले चलाइरहेको हुन्छ | जस्तै, उसको बाजे र उसको बाजे मिल्दैनथ्यो | त्यसैले उसको बाबु र  उसको बाबु पनि मिलेनन् र उनीहरु पनि मिलेनन् | उसले त्यो पार्टीलाई जिताउन  लागेकोले मन नलाग्दा नलाग्दै पनि ऊ पनि अर्को पार्टीलाई जिताउन कुदिरहेको छ | अझै पनि गाउँघरको राजनीति यस्तै छ | त्यसैले, एक तहको मान्छेहरूको दिमागलाई यो कथित चुनावले छुन्छ भन्ने कुरा हामीलाई थाहा थियो र छ |

तर, के  क्रान्ति परिवर्तन भन्ने कुरा जनताले जे सोचेका छन् त्यसैको आशामा मात्र बस्ने चिज हो त ? अवस्य, होइन | क्रान्तिमा पथप्रदर्शक पार्टी , नेता हुन्छन् |कहिले कहीं लामो फाइदाको लागि तत्कालीन जनताको सोचभन्दा फरक निर्णय पनि गर्नुपर्ने हुन्छ |

कथित चुनावको नाटक मञ्चनले निश्चय नै  हाम्रा केही समर्थक, शुभेच्छुकहरूको दिमाग हल्लाई दिन्छ | त्यो बेलामा हामी केन्द्रीय समिति, जिल्ला समिति, क्षेत्रीय/गाउँ समितिहरू, उपत्यका र अन्य सम्पर्क समितिहरू, प्रवास समितिहरूका भ्रात्री संगठनहरू एल. भी. हरूका सचेत नेतृत्व वर्गले यो आन्दोलनलाई अझ उचाइका साथ अघि बढाउनु पर्ने हुन्छ |

भानिन्छ– अहिलेको तितो पछिको मिठो | अहिले सजिलो बाटो हिंडेर पछि निभेको आन्दोलन उठाउनुभन्दा बरु अहिले अलिक गाह्रो बाटो हिंडेर, अलिक पीडा सहेर कम्तिमा यो आन्दोलनको तातोपनलाई जोगाउन सकियो भने डढेलो त कुनै पनि बेला  लागि हाल्छ |

त्यसैले, हामीले धेरै सोचेर आन्दोलनलाई निरन्तरता दिने  बाटो नै रोजेको हो |आजको दिन आउँछ भन्ने हामीलाई थाहा थियो | तर त्यसमा पनि हामी निरन्तर अडिक रहन्छौं भन्ने आत्माविश्वास थियो र छ |

मञ्च सम्बद्ध सघीय लिम्बुवान राज्य परिषद मङ्सिर ४ को कथित चुनावको बिरुद्धमा रहनुको गुदी कुराहरू यिनै हुन् |
हाम्रो लिम्बुवानी आन्दोलन शान्तिपूर्ण सशक्त रुपमा अघि बढिरहन्छ |

जय लिम्बुवान, संघीय अभिभादन !

(मिराक, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषदका अध्यक्ष हुनु हुन्छ)

प्रकाशित मिति: २०७० मङ्सिर ४

  • Share this post:
  • Facebook
  • Twitter
  • Delicious
  • Digg
Comments Off

Comments are closed.

More Posts