हामी अझ सशक्त र एकतावद्ध हुनु नै उत्तम बाटो हो
– कुमार लिङ्देन ‘मिराक’

Kumar Lingden Mirak United

अहिले जुन मतगणनाको परिणामहरू आइरहेका छन् र हामी पहिचान सहितको संघीयवादीहरूमा एक प्रकारको चिन्तन शुरु भएको छ | यो चिन्तनबाट नै एउटा नयाँ युगको शुरुवात हुनेछ |

हुनत, यस प्रकारको मत परिणाम ल्याउनैका लागि चैत्र १ को काण्ड रचेका थिए |

त्यसबेला, हामीले पहिचान सहितको संघीयता पक्षधर सबै पार्टीहरूलाई एक भएर आन्दोलन गरौँ भनेकै थियौं | जुन शक्तिले प्रचण्ड र मधेसी मोर्चालाई उचालिरहेको थियो, त्यही शक्तिले एमाले, कांग्रेससंग घनिभूत योजना पनि बनाइरहेको थियो |

मङ्सिर ४ को कथित चुनावमार्फत पहिचान सहितको संघीयतालाई सधैंको लागि साइड लगाउने मास्टर प्लान बनिसकेको छ भन्ने कुरा हामीले त्यतिबेला नै बुझिसकेका थियौं | हामीले सबैलाईअनुरोध गर्यौं- प्लिज, प्लिज …सबै संघीयवाहररू एक होऊँ र मङ्सिर ४ लाई असफल बनाऊँ | मङ्सिर ४ नै यस्तो बिन्दु हुनेछ कि यदि त्यो असफल भयो भने एकात्मकवादीहरू  ध्वस्त हुनेछन्  र त्यो सफल भयो भने हामी पहिचान पक्षधरहरूलाई गाह्रो हुनेछ |

तर, प्राय: साथीहरूले सुनेको नसुनेझैँ गरे | साथीहरूलाई सम्झाउनको लागि फेसबुकको वाल कति लेखियो होला |  तर बुझाउन सकिएन |

विचरा ! मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद एक्लै लडिरह्यो | फोटो सहितको मतदाता नामावलीको बिरुद्धमा छ नं. बुधबारे, टाँडी, लेटाङ …को झडपहरूमा हामी एक्लै लडिरहनु पर्यो | यत्रो एकात्मक राज्य सत्तासंग लिम्बुवान एक्लै लडिरहनु पर्ने अवस्था थियो- त्यो |

हामीलाई साथ दिनु त कता हो कता ! लिम्बुवान भनेको त क्षेत्रीय पार्टी हो |  चुनावामा भाग नलिएर सबै टेरोरिस्ट भइसके | त्यसमा लाग्नु हुँदैन भनेर हाम्रै समकक्षी पार्टीहरूले भने-  मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद भनेको त सारसंग्रहवादी कम्युनिष्टहरूको पिछलग्गु हो | यो अलोकतान्त्रिक भीड हो | चुनावपछि, यो अराजक संस्था बन्छ… भनेर अनेक हो हल्ला गरे |

तर पनि,  हामी अडिक भएर मङ्सिर ४  को कथित चुनाव विरुद्धमा आन्दोलित भइरहयौं |पछि,  ३३ दलले पनि महसुस गर्यो |  जतिबेला लिम्बुवानले लडाईं  सुरु गर्यो,  त्यहीबेला नै ३३ दल आन्दोलनमा होमिएका भए यो चुनाव-सुनाव केही हुने नै थिएन | तर, जेहोस् पछि नै भए पनि,  ३३ दलले साहसिक लडाईं लडेको छ | त्यो इतिहासले यसको मूल्याङ्कन  गर्नेछ |

जेहोस्, निकै ठुलो मौका हाम्रो हातबाट क्षणिकलाई भएपनि चुकेको छ | तिनीहरुले चैत्र १ को असंवैधानिक कदम चालिसकेपछि  हामी ३३ दल, मञ्च संघीय लिम्बुवान राज्य परिषद, संघीय समाजवादी पार्टी, जनमुक्ति, उपेन्द्र जि को फोरम मिलेर तिनीहरुलाई गोलमेच मा घुडा टेकाउनु पर्थ्यो |

तर, हाम्रै कमी कमजोरीले क्षणिकलाई तिनीहरू बलियो भएको जस्तो देखिन्छ | अब उनीहरूले ०४७ को संविधान व्यूंताउने प्रयास शुरु गर्छन् | प्रचण्डलाई उनकै पार्टीभित्र तेस्रो पार्टी भएपनि संविधान सभामा जानु पर्छ भन्ने दवाब  आउँछ | किनकि, यो चुनावमा धेरै एमाओवादीले एमाओवादीलाई नै भोट दिएका छैनन् | धेरै एमालेले एमालेलाई र धेरै कांग्रेसले कांग्रेसलाई भोट दिएका छैन | यहाँ के भएको थियो ? त्यो बिस्तारै बुझ्दै गइन्छ | अब,  प्रचण्डलाई उनकै पार्टीको जिल्ला समितिहरूले पहिचान सहितको संघीयता ठिक छैन | यसलाई त्याग्नु पर्छ भन्ने सुझाब पठाउँछन्  | यो सबै योजनावद्ध रुपमा भइरहेको छ |

अहिले नै कांग्रेस, एमालेका नेताहरूले भनिसके नै-  अब ३३ दललाई बाहेक अरु कसैलाई पनि चुनावको नतिजाको विरोध गर्ने हक छैन | यति विरोध गर्नु थियो भने पहिले चुनावमा भाग किन लियौ त ? के हामी ४ दलले तिमीहरूलाई घिसारेर ल्याएको हो त ?

हाम्रै साथीभाइहरूको क्षणिक लोभ-लालचले गर्दा हाम्रा मुद्दाहरू निकै गम्भीर मोडमा पुगेको छ | पहिचान सहितको संघीयताको कुरा गरेर मङ्सिर ४ को कथित चुनावमा जाकिने साथीहरूले आ-आफ्नो केन्द्रीय समितिमा गम्भीर छलफल, बहस र आत्मालोचना गरेर सडकमा उत्रनु पर्छ |

जहाँसम्म, मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद र ३३ दलको कुरा छ- हाम्रो आन्दोलन जारी छ | त्यसमा पनि,  मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषदको आन्दोलन जारी रहनेछ |

हामीले चुनावलाई टोटल्ली विरोध र बहिष्कार गरेकोले यसको निर्वाचन परिणाम  र यसले बनाउने सरकारप्रति हाम्रो असहमति कायम नै रहने छ |

जेहोस, मञ्च संघीय लिम्बुवान राज्य परिषद र ३३ दलको कारणले गर्दा आउने पचास वर्षसम्म आन्दोलन गर्ने बाटो बचेको छ | हाम्रो मुद्दा हारेको छैन | आउने पुस्ताले विद्रोह गर्ने थुप्रै आधारहरू तयार गरिदिएका छौं |

अब, सबैले विगतका कमी-कमजोरीहरूलाई समीक्षा गरी एकतावद्ध र सशक्त हुनुको विकल्प छैन | लिम्बुवान, खम्बुवान … तमुवान लगायतका मुद्दाहरू यति सत्य छ कि यो आकास-धर्ती रहिन्जेल यो मुद्दाहरूले कहिल्यै हार्ने छैन |

आत्मवल उच्च गरौँ , सबै ठिक हुन्छ |

जय लिम्बुवान, संघीय अभिवादन !

(मिराक, लिम्बुवानका अध्यक्ष हुनुहुन्छ) 

प्रकाशित मिति: २०७० मङ्सिर ८

  • Share this post:
  • Facebook
  • Twitter
  • Delicious
  • Digg
No Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>

More Posts