ती युवा दिमागहरूलाई कसरी आन्दोलित गर्ने होला ?
– कुमार लिङ्देन ‘मिराक’

Comments Off

Mirak Lingden

म मिक्लाजोङ पहाड र चारकोसे झाडीको बीचमा पर्ने गाउँमा जन्मे | मेरो आफ्नै पारिवारिक कारणले पान्थरमा हुर्कें | ०४३ सालमा कक्षा ९ मा पढ्न ललितपुरको लगनखेल पुगें |

०४६ सालको जन आन्दोलनमा एउटा टिन एजर्स आन्दोलनकारीको रुपमा पूरै दुई महिना सडकमा उत्रिएको थिएँ |

बहुदल आएपछि, बुबा कांग्रेस, मामाहरू एमाले र मैले जीवनमा सबैभन्दा बढी श्रद्धा गर्ने मेरो मावली बाजे राप्रपाका नेताहरु … | तर, मलाई उहाँहरूको कुनै कुराले कहिल्यै छुएन | किनकि, ०४६ सालको जन आन्दोलनमा ललितपुरको मंगलबजारमा मेरै आँखाअघि गोली लागेको सागर बज्राचार्यलाई मैले आफ्नै हातले उठाएको थिएँ |

त्यसबेलाका आन्दोलकारीहरू सिर्फ पंचायतको अन्त्यको लागि मात्र ज्यान आहुति दिएका थिएनन | साँच्चै भन्ने हो भने, त्यतिबेला शहिद भएकाहरू एकजना पनि कांग्रेस र एमालेका सदस्यहरू थिएनन् | त्यो त म ठोकुवा दिएर भन्न सक्छु | किनकि, त्यसबेला म फाल्गुन ७ गते करिब दिनको १२ बजे न्युरोडमा पहिलो बिरोध जुलुस शुरु हुँदादेखि चैत्रको अन्तिममा जनताले पाटन कब्जा गरे र पंचहरुले कर्फ्यु लगाएपछि न:टोलको दोकानी साहुनी लक्ष्मी श्रेष्ठले बिहान भयेछ भनेर झ्याल खोल्दा सेनाले मेसिनगनले ब्रस्ट फायर हान्दा ठाउँको ठाउँ सहिद भएको घटनाको चस्मदित् गवाह हुँ |

०४६ सालको आन्दोलनमा काठमाडौँका नेवारहरूले जुन ऐतिहासिक वलिदान गरे | चैत्रको अन्तिम समयतिर कीर्तिपुरको आन्दोलनमा हेलिकप्टरबाट गोली फायर गरेका थिए- पंचहरूले | मलाई अझै याद छ, बेलुकीको समय थियो कीर्तिपुरमा आन्दोलन चर्केको थियो | रातो वत्ती बालेर हेली घुमी घुमी फायरिङ गरिरहको थियो | ललितपुरको एकान्त कुना भनिमन्डलको डाँडाबाट मैले त्यो दृश्य हेरिरहेको थिएँ |

०४६ सालपछि उपत्यकाको राजनीतिमा नेवारहरूलाई कसरी पाखा पर्दै लगियो र नेवारहरूको पनि कसरी मन मर्दै गयो भनेर धेरैले दिमागले भुझेका होलान् | तर, मैले हृदय दिलले बुझेको छु र कहिलेकहीं एक्लै हुँदा सम्झन्छु र पटक्कै चित्त बुझ्दैन- धेरैबेर |

०४७ सालको संविधान निर्माण आयोगमा आदिवासी अनुहारबाट निर्मल लामा एकजना मात्र हुनु हुन्थ्यो | उहाँलाई आयोगका अन्य सदस्यहरूले जुन किसिमले डोमिनेट र इन्सल्ट गरे | त्यो कुरा मेरो हृदयमा गढेको सबैभन्दा ठुलो पीडा हो |

पछि मैले निर्मल लामाज्युलाई भेटे र भने- ‘‘लामाज्यु तपाइँ जस्तो व्यक्तित्वलाई नेपाली राजनीतिमा, मिडियामा एक खाले व्यक्तिहरूले किन इन्सल्ट गर्छन् ? म तपाईंको पार्टीको मान्छे होइन | तर तपाइँ माथि भएको इन्सल्टले किन मेरो हृदय दुख्छ |’’

लामाज्यु को उत्तर थियो- ‘‘कुमार भाइ, यसलाई Sentimental attachment भनिन्छ | हामी एउटै पार्टीमा नभए पनि उत्पीडित समुदायको अनुहारहरू भएकोले यस्तो फिलिङ विकसित भएको हो |’’
निर्मल लामाज्यु बितेर जानु भयो | तर उहाँले भन्नु भएको ‘सेन्टिमेन्टल अट्याचमेन्ट’ भन्ने शब्द मेरो कानमा गुन्जिरहेको छ |

साँच्चै होला, मेरो हृदयले त्यही भन्छ- ०४६ सालको जनआन्दोलनका शहिदहरूले कांग्रेस र एमालेहरूलाई सत्तामा पुर्याउनको लागि मात्र गोली थापेका थिएनन् | एउटा सम्पूर्ण क्रान्ति (Entire revolution) को उद्घोष गर्दै ढलेका थिए |

तर, जनआन्दोलन लगत्तै बनेको सरकारदेखि नै आदिवासीहरू माथि प्रहार शुरु भयो | त्यो प्रहार आजको दिनसम्म आइपुग्दा अझ धेरै धारिलो बनेको छ |

सायद, त्यसैले मलाई ०४७ सालको कार्तिकतिर देखि यो एकात्मक सिंहदरबार र यसका पृष्ठपोषकहरूसंग यति घृणा लाग्न थाल्यो- त्यसैले मलाइ कांग्रेस, एमाले, राप्रपा नामधारी चिजहरूले कहिल्यै आकर्षित गर्न सकेनन् |

त्यसबेला, म एउटा टिन एजर ठिटो थिएँ | तर त्यही बेलादेखि यी एकात्मकवादीहरूप्रति मलाइ यस्तो घृणा जाग्यो | मेरो टिन एजर मनले भन्यो | मेरो तेस्रो आँखाले देख्यो– यी पहिलेनै खनिएका बाटाहरूले दिंदैनन्, हामीले सम्पूर्ण रुपमा नयाँ बाटो (Entirely new way ) खन्ने कोसिस गर्नु पर्छ | हाम्रो अमूल्य जीवन त्यो नयाँ बाटो खन्ने काममा बिताउनु पर्छ | जुन बाटोको गन्तव्य नेपालका सबै इतिहास, समुदायहरूले सम्मान र अधिकार पाउनु पर्छ |

कहिलेकाही म सम्झन्छु– त्यो आउँले, टिन एजर्स केटाको मनमा नयाँ बाटोको कुराहरू त्यतिबेलै फुर्यो | तर हामीभन्दा अघिको जान्ने बुझ्ने दाइहरू र पछिको पुस्ताहरूमा अझै पनि त्यो कुराहरू मनमा किन नफुरेको होला ?

त्यसबेला र टी यु को अध्ययनपछि सम्झेँ- बरु म गाउँ जान्छु, बाख्रा पाल्छु, घाँस काट्छु | तर यी एकात्मकवादीहरूको अघि कहिल्यै आत्मसमर्पण गर्दिन | हो, त्यो नयाँ बाटो खन्ने काम त्यति सजिलो छैन | त्यसमा पनि दशकौंदेखि राजनैतिक रूपमा पछि पारिएको हाम्रो समुदायलाई राजनैतिक चेतना दिनु र संगठित गर्नु एकदमै सजिलो छैन | तर गाह्रो छ भनेर भाग्दै जाने हो भने फेरि कसले गर्ला त ? आखिरी, फाइभ स्टारमा जीवनभर खाना खाँदा पनि एकदिन जीवन अन्त हुने नै हो | केही नगरी बस्दा पनि मरिने नै हो | कांग्रेस, एमालेको पुच्छर हुँदा पनि मरिने नै हो | यदि यी सबै हुने नै हो भने आफ्नै जीवनले आफ्नै नयाँ बाटो किन शुरु नगर्ने त ? यस्तै कुराहरू मनमा खेल्थ्यो र अहिले पनि खेल्छ |

कतिपय साथीहरूले भन्छन्- म भावुक छु रे, र भावुक मान्छेले राजनीति गर्ने सक्दैन रे |

साच्चै होला, म अलिक भावुक छु | एकपल्ट मैले लेखेको पनि थिए होला | बिराटनगरको कोठामा बसिरहंदा कोशी एफ. एम. बाट लिम्बु भाषाको गीत बज्दा म कति धेरै रोएको थिएँ | सम्हालिन धेरै बेर लागेको थियो | पूर्णिमाको रात नाइट बसबाट काठमांडू जाँदा यात्राभरि आकाशको जून, एकात्मकवादले चुसेका सुख्खा जमिनहरू अनि धेरै सम्भावना बोकेर पनि सिंहदरबारको दासत्वमा कैद लिम्बुवान र यो लिम्बुवानलाई जगाउन सिरिजङ्गा, काङसोरे, महागुरु फाल्गुनन्द, इमानसिंहहरूले गर्नु भएको प्रयासहरू र ती प्रयासहरूलाई हामीले बुझ्न नसकेको अवस्थाहरू देख्दा सम्झंदा नाइट बसको यात्राभरि आँखा रसाउने गर्छ | र त्यही बेला एउटा आत्मिक शक्तिले भावुक मनहरूलाई निरन्तर अघि बढ्न प्रेरित गर्छ |

लिम्बुवान भूमिमा आध्यात्मिक शक्ति (Spiritual Power) छ | त्यो आध्यात्मिक शक्ति अहिले बुझिएको जस्तै हो कि वा कस्तो प्रकारको हो ? त्यो बहसकै बिषय हुनेछ | लिम्बुवान ज्यूँदो र नहारेको भूमि हो | त्यसैले, यसको आत्मा छ | यसले सोच्न सक्छ | यसले कसैलाई प्रेरित गर्न सक्छ | त्यसैले त्यहाँ आध्यात्मिक शक्ति छ भन्छु | सिरिजङ्गा, काङसोरे, महागुरु फाल्गुनन्द, इमानसिंहहरूको पूरा नभएको सपनाह (Unfulfilled Dreams ) नै मेरो लागि लिम्बुवानी आत्मिक शक्तिहरू हुन् |

म सोच्छु- आफ्नो समुदाय, आफ्नो लिम्बुवान भूमि, आफ्नो आमा, आफ्नो आमाको भाषामाथि दिनदहाडै यति धेरै दमन, अत्याचार हुँदा पनि नदुख्ने मन कस्तो मन होला ? आँसु नझर्ने आँखा कस्तो आँखा होला ? लिम्बुवानी अस्तित्वलाई दिउँसै च्यालेन्ज गर्दा पनि जमिरहने रगत कस्तो रगत होला ? अनि अलिकति कम्पिटिसन को भावना नभएको यौबन कस्तो यौबन होला ?

राजनीतिमा अलिकति भावना, भावुकता हुनैपर्छ | त्यसले राजनैतिक आन्दोलनलाई प्राण, रङग र यौवन प्रदान गर्दछ | विचार त छँदै छ नि | यति धेरै विद्वानहरूले लेखेका छन् | तर ती विचारहरूलाई स्थानीयकरण (Localization) गर्न त्यही भूमिमा उम्रिएको भावनाहरू हुनैपर्छ |

लिम्बुवानको इतिहास सम्झेर गर्वले छाति फुलाउन सक्ने, वर्तमानमा लिम्बुवानको दु:ख सम्झेर बरर रुन सक्ने र लिम्बुवानको भविष्य सम्झेर उत्साहाले डाँडा डाँडामा गीत गाउँदै नाच्दै हिंड्न सक्ने यो तीनवटा गुण भएको नेताहरू चाहिएको छ र चाहिन्छ- लिम्बुवानलाई |

यध्यपि, साथीहरूले अहिले मलाई राजनीतिमा देखिरहनु भएपनि, आज म यो लेखमार्फत सार्वजनिक गर्न चाहन्छु- मेरो खास इन्ट्रेस्ट लेखन नै हो | अहिले म लिम्बुवानी आन्दोलनको नेतृत्वमा रहिरहँदा पनि मलाई लागि रहन्छ कि मैले समय पाएर लेख्न पाएको भए, वा लेखेको भए लेखनबाट म अझ धेरै यो आन्दोलनलाई सहयोग गर्न सक्थें | लेखन, पुस्तक, शब्द, भावना मिसिएको विचारहरूको शक्ति त अदभुत हुन्छ | अध्यक्ष पद त पार्टी र आन्दोलन बुझेको, पार्टीका सबै कार्यकर्ताहरूको हृदय र विचार बुझेको कसैले पनि हाँक्दा हाँकिन्छ | तर, लेखन अलिक छुट्टै विषय हो | त्यसमा पनि विचार मिसिएको साहित्य लेखनको कुरा त चानचुने हुँदै होइन | रुसी लेखक म्याक्सिम गोर्की को ‘‘आमा’’ उपन्यास, चिनियाँ लेखक लु शुनको युगान्तकारी कथाहरू जसले क्रान्तिलाई कठिन घडीमा पनि अघि बढाउन ठूलो भूमिका खेल्यो |

०६२ सालमा लिम्बुवानी आन्दोलन शुरु गर्दा ०७० सालसम्म दशवटा लिम्बुवानी पुस्तकहरू लेख्ने मेरो योजना थियो | त्यसमध्ये ‘‘लिम्बुवानको नलेखिएको कथाहरू’’ एउटा थियो | यस्तै ९ वटा अरु लेख्ने सोचमा थिएँ | म आज छातीमा हात राखेर बोल्दैछु | त्यसैले, म शुरुमा लिम्बुवानको कुनै महत्वपूर्ण पदमा बसिन | हामीले जो साथीहरूलाई नेतृत्व प्रस्ताव गर्यौं, उहाँहरूप्रति हाम्रो पूर्ण समर्थन र विश्वास थियो |

त्यसबेला म किन पनि लिम्बुवानको कार्यकारिणी पदमा बसिन भने मलाई लागेको थियो- एक टिम साथीहरूले राजनैतिक आन्दोलनलाई हाँकेर लाने र त्यही टिमकै अरु साथीहरूले जस्तै मैले साहित्यिक आन्दोलनलाई हाँकेर लाने | दशकौंदेखि सुतेका, सुताइएका हाम्रो समुदायलाई ब्यूँझाउन राजनीतिसंगसंगै साहित्यिक क्षेत्र पनि जोडले अघि बढ्नु पर्छ | तब मात्र हामीले सोचे जसरी मान्छेहरूलाई ब्यूँझाउन सक्छौं |

तर, लिम्बुवानी आन्दोलनले विभिन्न घटनाक्रमहरू व्यहोर्नु पर्यो | र अहिले म अध्यक्ष जस्तो कार्यकारिणी पदमा छु |

निश्चय नै, संगठन वा पार्टी भनेको ठुलो टिमवर्क हो | टिममा छलफल बहस हुन्छ र त्यो टिमको प्रवक्ता जस्तो चाहिं अध्यक्ष हुन्छ | तर, कहिलेकाही अनकन्टार मोडहरू आउँछ | त्यस्तो बेलामा नेतृत्वले जोखिम निर्णय लिनुपर्ने हुन्छ | पार्टी र यसको नेतृत्वमा रहेपछि एकात्मकवादी पार्टीहरूको सडयन्त्रसंग स्टेप बाइ स्टेप कसरी जुध्ने भन्ने रणनीति त प्रत्येक क्षण, प्रत्येक दिन बनाउनै पर्ने हुन्छ |

पार्टीको नीति निर्माणमा ब्यस्त भइरहँदा पनि मेरो दिमागलाई थप अर्कै कुराले पनि सताइरहेको हुन्छ- हाम्रा समुदायका सुतेका भावना, सुतेका चेतनाहरूलाई कसरी ब्युँझाउने होला ? उनीहरूको सुतेको आत्मामा कसरी ”आत्मिक विष्फोटन (Spiritual Explosion)’’ गराउने होला ? किनकि आत्मामा उथल पुथल वा विष्फोटन आएको समुदाय वा मान्छेहरूले मात्र २१ औं शताव्दीको चुनौतीहरूलाई सामना गर्न सक्छ | फेरि पनि, हाम्रा समुदायको लागि आजको समयमा चाहिने पुस्तकहरूको अभाव महसुस गर्छु | हुनत, भन्छन् नि- एउटा देशले नेता, धनी व्यापारी, डाक्टर, इन्जिनियर जन्माउन सक्छ अरे | तर एउटा युगान्तकारी लेखक, दार्शनिक, चिन्तक जन्माउन हतपत्त सक्दैन अरे | साँच्चै नै हाम्रो समुदायलाई त्यस्तो युगान्तकारी साहित्यकार चाहिएको छ | जसले लिम्बुवानको इतिहास, लिम्बुवानको सपना, आधुनिक अर्थशास्त्र, आधुनिक विज्ञान, आधुनिक मनोविज्ञान, आधुनिक समाजशास्त्र, आधुनिक परराष्ट्र नीति, अहिलेको राजनैतिक आन्दोलनलाई एकै ठाउँमा कच्याककुच्युक पारी घोलेर नयाँ टेस्टमा पस्कन सकोस् |

हुनत, यो निकै गाह्रो कुरा हो | तर कसै न कसैले यो काम गर्ने पर्छ |
मैले माथि उल्लेख गरेको ०४७ सालदेखि नै म संधै सोच्ने गर्थें र सोच्ने गर्छु कि- हाम्रो लिम्बुवानी युवा युवतीहरूको दिल-दिमागलाई कसरी भित्रदेखि आन्दोलित गर्ने होला ? भनौं न, अहिलेको युवा दिमागहरूलाई कसरी लिम्बुवानी टेष्ट सहित आन्दोलित गर्ने होला ?

म सानैदेखि मामा छ्यामाहरूसंग मेला बजार जान्थें | मेला बजारमा हाम्रा समुदायका युवा युवतीहरू आफ्नै धुनमा रमाइरहेको, हाँसखेल गरिरहेको देख्थें | मानौं, उनीहरूलाई केहीको चिन्ता र समस्या छैन जस्तै गरेर | मैले युवा युवती देखेका दाइ-दिदीहरू ५०, ५५ वर्षका भइसके | पछि, हामीले पनि त्यसरी नै रमाइलो गर्यौं | हाम्रै पुस्ता पनि चालिसको हार हारिमा कुदिरहेको छ र अहिले युवा युवतीहरू पनि त्यसरी नै रमाइलोमा रमाइरहेका छन् | समय जाँदो छ | जीवन बित्दो छ | रमाइलो गर्ने पात्रहरू मात्र फेरिएका छन् | फेरि पनि, हाम्रो समुदायको जमघटमा जमेर रमाइलो गर्ने चलन छ | यसो भन्दा म रमाइलो, रमझमको विरोधी होइन | तर रमाइलो रमझम संगसंगै हामीहरूले जीवनको गुदी तत्व (Essential elements of life) चाल नपाएको हो कि वा त्यो तत्वको नजिक नै पुग्न नसकेको हो कि जस्तो लाग्छ |

हाम्रो समुदायको बिहे, भोज, पार्टी, ग्यादरिङ्स, मेला बजारमा भेटघाट हेर्छु | युवा युवतीहरू, तरेमा-तरेबाहरू उतिकै उत्साहका साथ रमाइलो गरी हाँसिरहेकै हुन्छन् | बोलिरहेकै हुन्छन् | भविष्यको सपनाहरू बुनिरहेकै हुन्छन् | त्यसबेला म सोच्छु- बिचराहरू ! ती लिम्बुवानी युवा-युवतीहरू कति निर्दोष छन् | सुन्दर घरजम बसाउने सपनाहरू बुनिरहेका हुन्छन् | तर उनीहरूलाई थाहा छैन | उनीहरुको घर बन्ने लिम्बुवान भूमिलाई एकात्मकवादीहरूले कब्जा जमाएका छन् | यहाँ सिंहदरबारले अन्याय, अत्याचार र मनपरी गरिरहेको छ | उनीहरुलाई थाहा छैन | बन्धक परेको भूमि जमिनमा जतिसुकै सुन्दर सपनाहरू उमारिए पनि आखिर त्यो सपनाहरू स्वतन्त्र हुन सक्दैनन् | ती सपनाहरू बन्धक सपनाहरू नै हुन्छन् | एउटा बन्धक जिन्दगीहरू भित्र एउटा युवा जोडीले एक-आपसमा कहिल्यै पनि निर्भिक माया प्रेम साटन सक्दैनन् | त्यहाँ उनीहरुले धेरै ठाउँ झुक्नु र सम्झौता गर्नुपर्ने हुन्छ |

त्यसैले, हाम्रा युवा युवतीहरूको युवा सपनालाई लिम्बुवान प्राप्तिको आन्दोलन संगसंगै जोडेर लानु पर्छ | त्यसो हुँदा मात्र उनीहरूको जीवन र उनीहरूको सपनाहरू सार्थक हुन्छ | यसबेला, लिम्बुवानी समुदायमा सुन्दर तरेबा र सुन्दर तरेमा तिनीहरू हुन् | जो दु:ख गरेर अध्ययन गर्छन् | युगसंग कम्पिटिसन गर्न प्रयास गर्छन् | फजुल खर्च गर्दैनन् | शरीरलाई हानी गर्ने नशालु पदार्थ सेवन गर्दैनन् | लिम्बुवानी भएकोमा गर्व गर्छन् र आवश्यक पर्दा लिम्बुवानको लागि जस्तो सुकै वलिदान दिन सबैभन्दा अघि बढछन् | वास्तकमा तिनीहरू नै आजका लिम्बुवानी युवा-युवतीका आदर्श (Ideal) हिरो-हिरोइनहरू हुन् |

एक जमाना थियो, राम्रो लुगा लगाउने, हातमा घडी लगाउने, कोटको गोजीमा कलम भिर्ने र धेरै सुन लगाउनेहरू त्यो गाउँको, त्यो बिहेको, त्यो मेला बजारको सबैभन्दा राम्रा राम्री तरेबा तरेमा हुन् | तर अहिले परिभाषाहरू पुरै बदलिएको छ | किनभने, आज सम्पूर्ण नेपाल र विदेशमा हामीलाई पालाम भन्ने, च्याब्रुङ नाच्ने भनेर मात्र होइन संघीयता, स्वायत्तता र नौ जिल्ला लिम्बुवानको लागि सबैभन्दा बढी संघर्ष गर्ने समुदायका युवा-युवातीहरू भनेर चिन्छन् | अरुलेचाहिं, हामीलाई त्यसरी चिन्ने अनि हामीचाहिं लिम्बुवान आन्दोलनको बारेमा थाहा नै नपाउने हो भने ठुलो लाज हुन्छ है | त्यसैले, आज जो युवा-युवती लिम्बुवानको लागि सबैभन्दा क्रियाशील हुन्छ | उनीहरू नै त्यो गाउँ, त्यो बिहे, त्यो मेला बजारको सबैभन्दा ‘ए वान’ तरेबा तरेमा हुन् | किनकि, जसले लिम्बुवान बुझ्छ उसले क्रमश: कसरी आर्थिक कमाउने र त्यसलाई कसरी बचत गर्ने भन्ने बुझ्छ | जसले लिम्बुवान बुझेको हुन्छ, उसले आफ्नो छोरा छोरीलाई पढाउनु पर्छ भन्ने बुझेको हुन्छ | वास्तवमा भन्ने हो भने जसले लिम्बुवानलाई माया गर्छ उसले जति आफ्नो प्रेमी-प्रेमिकालाई कसैले पनि माया गर्दैन | चाहे त्यो केटा होस् वा केटी दुबैमा यो कुरा लागू हुन्छ |

हो, यसैलाई लिम्बुवानी युवा-युवतीहरूलाई लिम्बुवानी आन्दोलनकरण गर्नु भनिन्छ |

हो, मलाई यस बारेमा धेरै काम गर्न मन लाग्छ | हुनत, अहिले हामीले संचालन गरिरहेको लिम्बुवान आन्दोलन पनि यसको लागि टेवा दिरहेको छ | तर त्यतिले मात्र पुग्दैन | त्यसको लागि युवा-युवतीहरूको लागि मन छुने, उत्प्रेरित गर्ने लिम्बुवानी साहित्य, उपन्यास, कविता, गीत, कथा, फिल्म, नाटक, चित्रकलाहरू चाहिन्छ |

जब म हाम्रै समुदायको कुनै बिहे, ग्यादरिङ्स, मेला बजारमा पुग्छु र त्यहाँ भेला भएका युवा-युवतीहरूलाई देख्छु तब मनमा यिनै कुराहरू खेल्न थाल्छन्- प्रथम त म आफ्नै टिन एजलाई सम्झन्छु | कुनै पथ प्रदर्शकविना नै ठोकिंदै, लड्दै र फेरि उठ्दै यहाँसम्म आइपुगिंदैछ | तर, अहिलेको युवा-युवतीहरूको लागि त धेरै सजिलो बाटो बनि सकेको छ | ०४६/०४७ सालबाट यहाँसम्म आइपुग्दा धेरै बाटो बनि सकेको छ | त्यहाँ, ,कसरी लिम्बुवानी युवा पुस्तालाई हिंडाउने होला ? उनीहरूको दिमाग, भावनालाई कसरी आन्दोलित गर्ने होला ?

साधारण राजनीति मात्र गर्ने हो भने वा अर्को चुनाव कसरी जित्ने मात्र सोच्ने हो भने वा प्रेसरको लागि केही सडक आन्दोलनहरू मात्र गर्ने हो भने त अहिलेकै स्टाइलले संगठन बिस्तार गर्ने हो | पार्टीको राजनैतिक गतिविधिलाई केही स्पिडमा बढाउने हो | तर साँच्चिकै, हामीले सोचे जस्तो सम्पूर्ण लिम्बुवानी क्रान्ति (Entire Limbuwan Revolution ) को बाटोमा हिंड्ने वा हिंडाउने हो भने अलिक फरक तरिकाले, अलिक तलैबाट, अलिक भित्रैबाट परिवर्तनको लागि काम शुरु गर्नुपर्छ | अहिलेको लिम्बुवानी युवा पुस्ताको दिमागहरूलाई नै सम्पूर्ण रुपमा आन्दोलित गर्न सक्नुपर्छ |

त्यो ग्यादरिङ्सको एक छेउमा बसेर म यस्तै कुराहरू सोचिरहेको हुन्छु |

जय लिम्बुवान, संघीय अभिवादन !

(एकजना बहिनीले  ‘‘दाइ ताप्लेजुङको पुसे मेला आउनु होला है | कति रमाइलो हुन्छ | संखुवासभा, धरान, धनकुटा, पान्थर र ताप्लेजुङको प्राय: सबै ठाउँको युवा-युवतीहरू आउँछन् | कति ठुलो पो लाग्छ त | आउनु है …..!’’ भनेर फोनमा कुराकानी भएपछि केही कुराहरू लेख्न मन लाग्यो र यो छोटो लेख बन्यो |)

(मिराक, मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषदका केन्द्रीय अध्यक्ष हुनुहुन्छ)

२०७० मङ्सिर ११ लिम्बुवान, नेपाल

प्रकाशित मिति: २०७० मङ्सिर १२

  • Share this post:
  • Facebook
  • Twitter
  • Delicious
  • Digg
Comments Off

Comments are closed.

More Posts