कविता: ओ…रि…ल्लो !
– थक्साङ् लिम्बू

Thakshang Limbu photo
साना साना लाला बाला
अनि, मक्की सकेको सानो याक्सा देखाउँदै
सायाद वर्गीय खाडलमा निस्सासिएर
सोध्छिन् जीवन साथी अम्लाफुङ ले
थक्साङ् ! यसरी जीवन चल्छ ?
———
छ दशक काटिसकेका मेरा ‘पाप्पा’
गोठालो जाँदाको थकाइ मेट्न
वा?घोरीमाथि बसेर
उसै निरासिएर भन्नु हुन्छ-
‘कान्छा राजनीति छोड अब ‘।
——–
म झस्किन्छु,
लाग्छ, अर्कै संसारमा उभिएको छु
टाउकामा हेम्बरले ठुँगेको राँगो झैँ
यता-उता रन्थनिन्छु
गुण भत्किएको गौंथली जसै
जता-ततै बेगिएर उड्छ मन ।
——-
एउटा मनले भन्छ-
अम्लाफुङलाई झ्याप्प अंगालोमा कसेर
कहिलै नछुटिने बाचा गरौँ
विलापिएको पाप्पाको मनलाई शान्त पार्न
आजैबाट राजनीति छोडें भनी कसम खाउँ
——
नाम्बिन र निङ्वासंगै खेल्दा
अलि परको ठुलो ढुङ्गामा बसी
दर्शक बन्ने सङ्कल्प गरौँ …।
——
ठीक यतिखेर,
माथि मेन्छ्यायेम कोक्मातिर हेर्छु-
घाम डुब्नै लागेको छ
झसङ्ग हुन्छु
समय बितिसकेको देख्दा… ।
——-
अनि संकल्प गर्छु-
लिम्बुवान स्थापना गर्ने नै हो भने
औंशीको रातलाई चिर्दै
मुक्तिको झण्डा बोक्नु पर्छ
काङ्सोरेको पाइला पछ्याउने हो भने
वर्गीय खाडलमा टेकेर
पहिचानको लडाईं लड्नै पर्छ
——-
म भिड्नै पर्छ
र मैले, यो लडाईं  जित्नै पर्छ ।
तब मेरा सन्तानले
तागा र मेख्ली लगाएर
हुरुङ् हुरुङ्  केलाङ् नाच्ने छन्
आनि? पा:न् र मुन्धुम पढेर
सुरमा सूर मिलाउँदै
हाक्पारे-ख्याली गाउने छन्
ओ …रि….ल्लो….. !!
———
शब्दार्थ:
थक्साङ = संघर्ष
अम्लाफुङ = लिम्बू जातिको मिथकमा प्रेमको प्रतीक सुनाखरी फूल (यहाँ एक महिलाको नामको रुपमा)
वा?घोरी = कुखुराको खोर
नाम्बिन् = सूर्योदय वा बिहानी पखको समय (यहाँ बच्चा छोराको नामको रुपमा)
निङ्वा = मन या दिल (यहाँ छोरीको नामको रुपमा)
हुरुङ् = लिम्बू जातिको सांस्कृतिक बाजा च्याब्रुङ बज्दा निस्कने बाघ गर्जेको जस्तो आवाज
आनि? पा:न् = हाम्रो भाषा
ओ…रि…ल्लो = लिम्बू जातिको मौलिक गीत हाक्पारे साम्लो गाउँदा निकालिने सुरिलो र विरक्तिलो लययुक्त आवाज  |
  • Share this post:
  • Facebook
  • Twitter
  • Delicious
  • Digg
No Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>

More Posts