संघीय लिम्बुवान पार्टी, नेपाललाई संस्थागत विकास गर्नेबारे एक अवधारणा

Comments Off

पार्टीलाई लिम्बुवान राज्य प्राप्ति र विकासका लागि संस्थागत गरौं ।

१. पृष्ठभूमि

लिम्बुवान आन्दोलनलाई प्रभावकारी रुपमा विकास गर्न, लिम्बुवानी जनताको विश्वास जित्न, जागृत गर्न र संगठित गरी आन्दोलित गर्नका साथै लिम्बुवानी जनताको विद्रोहको आकांक्षालाई हरतरहले संगठित गरी राजनीतिक शक्तिमा रुपान्तरण गर्दै पार्टीलाई संस्थागत विकास गर्न जरुरी छ । लिम्बुवान राज्य स्थापना गर्न र विकसित लिम्बुवान राज्य निर्माणको लागि एउटा मजबुद पार्टीको आवश्यकता पर्दछ । मजबुद पार्टीविना राज्यमा राजनीतिक, सामाजिक, साँस्कृतिक र आर्थिक समानता सम्भव हुँदैन ।

लोकतन्त्रमा जनताले पार्टी स्थापना गर्ने हो र संस्थागत विकास गर्दै लैजाने हो । बलियो राजनीतिक पार्टी नभई राष्ट्र (जाति) र राज्य बलियो हुन सक्तैन । बलियो पार्टी नभई राजनीतिक मुक्ति, स्वतन्त्रता र आर्थिक विकास सम्भव छैन । आर्थिक विकास नभई राष्ट्र (जाति) को विकास, उन्नति, र प्रगति सम्भव छैन । साथै, यसविना आधुनिक तथा समृद्ध राज्य (State) पनि बन्न सक्तैन । यसकारण, पार्टीको संस्थायत विकास गर्न जरुरी छ । यहाँ हामी स्पष्ट हुनु पर्दछ कि पार्टी बनाउनु, पार्टीलाई निरन्तरता दिनु र पार्टीलाई नयाँ उचाईमा विकास गरेर लैजानु एउटै कुरा होइन । तर, यतिखेर हामीले यी सबै प्रक्रिया सँगसँगै विकास गरेर लैजानु पर्ने अवस्था छ । यसको लागि पार्टी एकता हुनु महत्वपूर्ण आधार हो । हाम्रो पार्टी र लिम्बुवान आन्दोलन ‘मजबुद’ होस् भनेर हामीले एकता गरेका हौं । अब यसलाई संस्थागत विकास गर्न हामी सबै जुट्न आवश्यक छ ।

२. लिम्बुवानमा लागेको तीन तत्व

अब हामीले एकीकृत संघीय लिम्बुवान पार्टी, नेपाललाई संस्थागत विकास गरेर लैजान निम्न ३ पक्षलाई मिहिन रुपमा बुझेर सबैलाई लिम्बुवानको स्थापना, समृद्धि र विकासमा एकतावद्ध गराउन आवश्यक छ ।

(क)     लिम्बुवान स्थापना, विकास र समृद्धिको लागि लागेका नेतृत्व र कार्यकताहरू
(ख) लिम्बुवान आन्दोलनमा लागेर केही प्राप्त गर्न सकिन्छ कि भनेर लागेका नेतृत्व र कार्यकर्ताहरू
(ग)     लिम्बुवान आन्दोलनलाई असफल पार्नको लागि लागेका नेतृत्व र कार्यकर्ताहरू

उपरोक्त ३ पक्षलाई ख्याल नगरी पार्टीलाई संस्थागत गर्नतर्फ लाग्दा त्यो सफल नहुन सक्दछ । लिम्बुवान आन्दोलनमा व्यक्तिगत स्वार्थपूर्तिका लागि लागेका नेतृत्व तथा कार्यकर्ताहरूलाई सामूहिक तथा पार्टीगत र लिम्बुवानको साझा स्वार्थ वा हितमा लाग्न पे्ररित, प्रशिक्षित गर्दै मूल धारमा समेट्न सक्नुपर्दछ । लिम्बुवान आन्दोलनलाई असफल पार्न खोज्ने नेतृत्व र कार्यकर्ताहरूलाई बेलैमा पहिचान गरी सजगताका साथ पार्टी र लिम्बुवानको हितमा उपयोग गर्दै सही दिशमा रुपान्तरण गर्न कोसिस जारी राख्नुपर्दछ ।

३. लिम्बुवान एकतासँगै उब्जिएका तीन पक्ष 

  •  बृहत् लिम्बुवान एकता गर्न चाहने ‘एकता पक्षधर’
  •  बृहत् लिम्बुवान एकता गर्न नचाहने ‘एकता विपक्षधर’
  •  बृहत् एकतासँगै एकताको प्रक्रिया र पार्टीको क्रियाकलापप्रति ‘असन्तुष्ट पक्ष’

बृहत् लिम्बुवानको एकतासँगै उब्जिएका यी तीन पक्षहरूलाई पनि मिहिन रुपमा पहिचान गरी पार्टी एकता, संस्थागत विकास र लिम्बुवानको हितमा रुपान्तरण गर्न एकतापक्षधर नेतृत्व, कार्यकर्ता र जनताहरूले पनि कोसिस गर्नुपर्दछ ।

४. लिम्बुवान पक्षधर पार्टीहरूको एकतासँगै फितलो र कमजोर सुरुवात 

  • लिम्बुवान पक्षधर पार्टीहरूको एकताको क्रममा कतिपय शीर्ष नेताहरू नै एकताको पक्षमा तयार नभएका कारण पार्टी एकतापछि एकीकृत पार्टीले सोचेजति गति लिन नसक्नु ।
  • एकीकरणसँगै एकीकृत पार्टीमा नातावाद र कृपावादको सुरुवात हुनु ।
  •  एकीकरणपछि प्रमुख नेताहरूले आपूmलाई नै सम्पूर्र्ण ठान्नु ।
  • सबै ठाउँमा आफ्नो सहभागिता तथा संलग्नता हुँदामात्र आफ्नो भएको ठान्ने प्रवृत्तिको सुरुवात हुनु । अथवा एकताअघिकै प्रवृक्तिमा सुधार नहुनु ।
  • सम्बद्ध निकाय र पधाधिकारीबाट समयमै पार्टीगत सूचनाहरू आदान–प्रदान नगर्नु र  एकापसमा नसोधी, नबुझी काम गर्ने शैलीको प्रारम्भ हुनु ।

पार्टीका सम्बद्ध सबै नेतृत्व तथा कार्यकर्ताहरूले उपरोक्त कमी–कमाजोरीलाई महसुस गर्दै सुधार्ने ठोस कदमको सुरुवात यसै सम्मानित बैठकको निर्णय र प्रतिवद्धताबाट गरिनु पर्दछ ।

५. बृहत् लिम्बुवानी एकतासँगै पार्टीभित्र उब्जिएका संवदेनशील सवालहरू

  • केही प्रमुख नेताहरूबाट नै एकतालाई आत्मासात गर्न नसक्नुले एकतापछि पार्टीले सोचे अनुरुप गति लिन सकिरहेको छैन ।
  • एकीकृत पार्टीको केन्द्रीय पदाधिकारी, सचिवालय, केन्द्रीय समिति र जिल्लागत तहको समायोजनको क्रममा कहिल्यै कुनै लिम्बुवान पार्टीहरूमा नरहेका, पार्टी प्रवेश भएको महिना दिन पनि नपुगेका आदिलाई उच्च पदहरूमा पदासिन गराउने कार्यले लिम्बुवानी जनतालाई लज्जाबोध भएको छ । लिम्बुवान आन्दोलनमा साँचोअर्थमा रगत, पसिना बगाएका, त्याग गरेका, अहोरात्र खटेका, कार्यकर्ताहरूको शीर ढलेको छ । उनीहरुको योगदानको अवमूल्यन भएको छ । सिफारिस गर्ने नेता र त्यसरी उच्च पदहरूमा पुगेकाप्रति अविश्वास र शङ्का उत्पन्न भएर गएको छ ।
  • लिम्बुवानको लामो आन्दोलन क्रममा धेरै आरोह अवरोह भए । हाम्रा अग्रज नेताज्युहरूले अनेकौं जटिल परिस्थितिहरूको बावजुद लिम्बुवान आन्दोलनलाई यहाँसम्म ल्याउन सफल हुनुभयो । अझैपनि लिम्बुवान आन्दोलन जारी छ । हामीबाट विगतको लिम्बुवान आन्दोलनको क्रममा धेरै कमी–कमजोरीहरू भएका छन् भनेर प्रमुख नेताहरूमा त्यसको महसुस भएको विचारसम्म व्यक्त हुँदै आए तापनि अझै व्यवहारमा भने सच्याउन तयार देखिनु भएको पाइएको छैन । बरु झन दोहोरिन सक्ने सङ्केतहरू टड्कारो रुपमा देखापर्दै गएको छ ।
  • प्रमुख नेताहरूबाटै बृहत् एकता लिम्बुवान राज्यको घोषणासम्मको लागि मात्रै हो भनेर केही भनाइहरू आएका छन् । यसले हामी र जनतामाझ केही गम्भीर प्रश्न तथा भ्रमहरू उब्जाई दिएकोछ । एकता अनन्त कालसम्मका लागि हो र यो स्थायी प्रकृतिको हुनुपर्दछ ।
  • लिम्बुवानको आन्दोलनलाई धोका दिँदै यसबाट किनारा लागेकाहरू एकतासँगै बाउरिन थालेका छन् । तिनीहरूले पार्टीलाई संस्थागत हुनबाट घुमाउरो पाराले अवरोध गर्न सक्छन् । उनीहरुले पार्टीलाई सिस्टममा लैजानुपर्छ भनिरहने तर पार्टी सिस्टमभन्दा सधैं बाहिर बस्ने र पार्टीलाई पनि सिस्टममा चल्न नदिने काम गरिरहेका हुन सक्छन् ।
  • हामी संघीय व्यावस्था चाहन्छौ । संघीय व्यावस्था भनेको मुट्ठीभर शासकहरूको हातमा मात्र रहेको शक्तिको न्यायोचित बाँडफाँड हो । संघीयवादीहरूले सामूहिक नेतृत्व, सामूहिक निर्णय र सामूहिक जिम्मेवारीको आधारमा आफ्नो र संगठनात्मक चरित्र निर्माण गर्न सक्नुपर्दछ । पार्टीको हरेक संरचनाको विकास पार्टीले अवलम्बन गरेको नीति, सिद्धान्त अनुरुप हुनुपर्दछ ।

६. संघीय लिम्बुवान पार्टी, नेपाललाई सफल हुन नदिने समस्याहरु 

पार्टीलाई संस्थागत गर्नमा अवरोध पु¥याउने समस्याहरू निम्नानुसार छन्–

  • क. शुद्धीकरण, आचार, शैली, व्यवहारमा समस्या
  • ख. अहम्, इगो, घमण्ड, दम्भमा समस्या
  • ग. अध्ययन, अनुसन्धानमा समस्या
  • घ. कार्यकर्ता र जनतासँगको सम्बन्धमा समस्या
  • ङ. आर्थिक अनियमितताको समस्या
  • च. मनोगत सोचको समस्या
  • छ. अराजनीतिक सोच र शैलीको समस्या
  • ज. सामूहिकीकरण गर्न नचाहने समस्या
  • झ. विधि, प्रक्रियामा समस्या
  • ञ. आमसभा नै सबैथोक हो र त्यहाँ भाषण गर्नु नै राजनीति हो भन्ने सोचको समस्या
  • ट. कार्यकर्ताको सुरक्षामा समस्या आदि ।

पार्टीमा देखिएका उपरोक्त समस्याहरुलाई मिहिन रुपमा पहिचान गरी सोही अनुसार समाधानको (सच्चिन र सुधार गर्न) बाटो अवलम्बन गरिनु पर्दछ ।

७. वैचारिक तथा प्राविधिक मतभेदहरुलाई राजनीतिक रुपमा व्यवस्थापन गरी समाधान गर्न सिकौं

लिम्बुवानी राजनीतिको मुख्य समस्या फुट्नु, टुक्रनु, नमिल्नु हो । एकै ठाउँमा रहेर पनि एकापसमा विश्वास र सम्मान गरागर गर्न नसक्नु हो । एकले अर्कोलाई नपत्याउनु, आफ्नो कुरा मात्रै ठीक हो भन्ने महारोग पाल्नु हो । विगतमा लिम्बुवान पक्षधर पार्टीहरूमा सानासाना मतभेद तथा झगडाले पार्टीमा फुट र गुटको जन्म हुने गरेको सबैलाई विदितै छ । यो प्रक्रियालाई अब रोक्नै पर्दछ । यसका लागि पार्टीको आन्तरिक जीवनमा हुने प्राविधिक तथा वैचारिक अन्तरद्वन्द्वहरुलाई बहस र छलफलमा खुल्ला गर्नुपर्दछ  । पार्टीमा आन्तरिक मतभेद हुन्छ  । यसलाई व्यवस्थित रुपले सही ठाउँमा राख्न र निकास गर्न गराउन सिक्नु पर्दछ । नेता नेताबीच वैचारिक, प्राविधिक तथा व्यवहारिक रुपमा भएका भ्रमहरू, अस्पष्ट भएका विषयहरू र विकृति विसंगतिहरू आदिको बारेमा प्रष्ट रुपमा बुझ्नु र बुझाउनु पर्दछ; चित्त नबुझेमा सही ठाउँ र समयमा सही तरिकाले आलोचना र विरोध गर्नु पाउनु पर्दछ । गल्ती भएको भए आत्मालोचना गर्नुपर्दछ । यसरी मतभेद, वादविवाद तथा अन्तरद्वन्द्व हुदाँ हुँदै पनि एक भएर मिलेर बस्न सिक्नु पर्दछ । र सत्यतथ्य र वस्तुगत आधारमा छलफल, तर्क गरि अघि बढ्न हामी सबैले सिक्नु पर्दछ । आलोचनालाई गाली र बिरोधी सम्झिने संस्कार हटाइनु पर्दछ ।

८. एउटै पार्टीका नेता, कार्यहर्ताहरूबीचको व्यवहार

हामीले आफ्नो पार्टीभित्रका आफ्ना नेता, कार्यकर्ता र अन्य पार्टीका नेता, कार्यकर्ता जो हाम्रो मुद्दाको विरुद्धमा छन्, यी दुई बीचको फरक छुट्याउन सक्नुपर्दछ । हामीले विगतका र हालसालको हाम्रो व्यवहारलाई समीक्षा गर्नुपर्दछ । हामी आफ्नो नेता, कार्यकर्तासँग सामन्ती मालिक र नोकरबीचको जस्तो व्यवहार गरिरहेका पनि हुन सक्छौं । प्रमुख नेतृत्वले सहायक नेतृत्व वा कार्यकर्ताहरुलाई आफ्ना खेतलाजस्तो पनि व्यवहार गरेका हुनसक्छौं । मुलतः राजनीतिमा आफ्नो विरोधीहरूसँग शत्रुतापूर्ण र आफ्नो कार्यकर्तासँग सामान्य व्यवहार हुनुपर्ने हो । त्यसमा पनि आफ्नै पार्टीमा रहेर पनि विरोधी दलको पक्ष लिने नेता, कार्यकर्तालाई शत्रुतापूर्ण नै हुन्छ तर पार्टीको सम्पूर्र्ण विधि मानिरहेका आफ्नै सामान्य कार्यकर्तासँगै पनि निर्मम् व्यवहार गर्दै आइरहेका पो छौं कि ? यो मननीय सवाल हुनसक्छ ।

९. पार्टीभित्रको समस्या

पार्टीभित्रको समस्या पार्टीको सीमाभित्रै समाधान गरिनुपर्दछ । पार्टीको समस्यालाई बाहिर बाहिर समाधान गर्न खोज्ने प्रक्रियाले विस्तारै पार्टीभित्र नकरात्मक परिस्थितिको जन्म लिदैं जाने हाम्रै अनुभव छ । साथै, पार्टी बाहिरको समस्यालाई पनि पार्टीमा भित्र्याउनु हुन्न ।

१०. नेता, कार्यकर्ताको क्रियाकलाप

व्यक्तिहरूको क्रियाकलापबाट समाज बुझिन्छ भन्ने भनाइ छ । आखिर व्यक्तिहरूको समूहलाई नै समाज भनिदो रहेछ । त्यस्तै पार्टी भनेको नेता, कार्यकर्ताहरूको समूह हो । यसको अर्थ पार्टीको बारेमा बुझ्नको लागि नेता, कार्यकर्ताहरूकोे क्रियाकलाप थाहा पाएपछि करिब बुझिने भयो । यसकारण पार्टी संस्थागत हुन, विकास हुन, मजबुद र ठूलो पार्टी बनाउनलाई नेता, कार्यकर्ताहरूको व्यवहारिक क्रियाकलापले महत्वपूर्ण भूमिका खेल्दछ । अब पार्टीलाई संस्थागत गरी नयाँ उचाईमा लैजान सम्पूर्र्ण नेता, कार्यकर्ताहरूले अबका सामान्य व्यवहारिक क्रियाकलाप वा संस्कारमा नयाँ र जनमैत्री शैलीको विकास वा प्रारम्भ गरी लिम्बुवानी राजनीतिक संस्कारको विकास गर्ने प्रतिबद्धता जाहेर गरौं ।

११. पार्टी संस्थागत गर्दा ध्यान दिनुपर्ने कुराहरू

  • नेताले सामान्ती सोच, एकल निर्णय, मैले जति अरुले बुझेकै छैनन् भन्ने सोच गर्नुहुन्न । म नै हुनुपर्छ, म भएपछि, म सहभागी भएपछि भैहाल्छ नि भन्ने चिन्तन त्याग्नु पर्दछ । आफू सहभागी हुँदा मात्र भएको, अरु नेता सहभागी हुँदा त्यसलाई स्वामित्व नै नलिने प्रवृत्ति राख्नु हुन्न । आफूबाहेक अरुलाई अर्थात् आफूभन्दा कम उमेर समूहकालाई नेता स्वीकार गर्न तयार नहुने प्रवृत्ति त्याग्नु पर्दछ ।
  • आर्थिक समस्याबारे स्पष्ट नीति तर्जुमा गर्ने र भएका निर्णयहरूलाई कडाईका साथ कार्यान्वयन गर्न । अस्पष्ट आर्थिक नीतिलाई उल्टै प्रश्रय दिँदै जानु र यसमा आफ्नो स्वार्थको ख्याल गर्नु हाम्रो आर्थिक नीतिमा भएको एक कमजोरी हो यसलाई हटाउनु पर्छ ।
  • राजनीतिक संस्कारको विकास गर्ने र नेताहरूले जिम्मेवारी बहन गर्ने ।
  • बैठकमा भएका निर्णयहरू कडाइका साथ कार्यान्वयन गर्ने ।
  • अरु राजनीतिक दलका नेताहरूभन्दा आप्mनै दलका नेताहरुको बढी विश्वास गर्ने । आफ्नै नेताहरूसँग सल्लाह लिने, छलफल गर्ने प्रवृत्तिको विकास गर्ने ।
  • पार्टीको नीति र मुद्दालाई केन्द्रमा राखेर कार्य गर्ने ।
  • विचारलाई व्यवहारमा रुपान्तरण गर्ने ।
  • नेताहरूमा सह–अस्तित्वादी सोच र व्यवहार गर्ने ।
  • योजनावद्ध रुपमा सबै क्षेत्रबाट नेता निर्माण गर्ने ।

१२. पार्टीलाई सुरुदेखि नै संस्थागत गरौं

क. बैठक

पार्टीलाई सुरुदेखि नै संस्थागत गर्न कुन तहको बैठक कहिले कहाँ राख्ने र त्यसका अजेण्डाहरु के के हुने भन्ने बारे समयमै सम्बद्ध तहका नेता–कार्यकताहरुलाई जानकारी हुनुपर्दछ । बैठक हुँदा कम्तीमा बैठकको मुल्य–मान्यतालाई ख्याल गरी सोको प्रक्रिया र अनुशासनमा कडाइका साथ ख्याल गरिनु पर्दछ । बैठकमा भएका निर्णयहरु कति सार्वजनिक गर्ने र कति गोप्य राख्ने बारे सचेत हुनुपर्दछ । निर्णयहरुलाई समयमै जानकारी र परिपत्र गरिनुपर्दछ ।

ख. निर्णय प्रक्रिया

पार्टीको निर्णय प्रक्रिया बहुमत भन्दा पनि सहमतिको आधारमा गरिनु पर्दछ । तर सहमतिको नाममा महत्वपूर्ण र समयमै निर्णय लिनुपर्ने विषयमा अल्झाई राख्नु पनि हुन्न ।

ग. कार्यान्वयन

पार्टीको बैठक र अधिवेशन, महाधिवेशन लगायतमा भएका सबै निर्णयहरु एक एक गरी कार्यान्वय गर्नका लागि सम्बद्ध पदाधिकारी तथा जिम्मेवार नेताले अनुगमन र नेतृत्व प्रदान गरिरहनु पर्दछ । यसका लागि एक प्रभावकारी संयन्त्र बनाउनु पर्छ । निर्णय कार्यान्वयन नभएमा सम्बद्ध पदाधिकारी, निकाय तथा जिम्मेवार नेताहरुको त्यसको जवाफदेही हुनुपर्दछ । यदि कार्यान्वयन गर्न नसकिने अवस्था भए बेलैमा सम्बद्ध निकायम जानकारी गराई उचित विकल्प अवलम्बन गरिनु पर्दछ । निर्णय कार्यान्वयमा उचित पुरस्कार र दण्डको समेत व्यवस्था गर्नुपर्दछ ।

घ. जिम्मेवारी

पार्टीमा जिम्मेवारी प्रदान गर्दा वा बाँडफाँड गर्दा नातावाद कृपावादभन्दा पनि तत् क्षेत्र र विषयमा रहने अनुभव, दक्षता र योग्यताको आधारमा गर्ने परिपाटी बसाल्नु पर्दछ । एकै जनालाई धेरै जिम्मेवारीभन्दा पनि एक नेतृत्व एक जिम्मेवारीको नीति अवलम्बन गरिनुपर्दछ । कुन नेतृत्व, निकाय वा नेताले कुन कुन जिम्मेवारीहरु कसरी सम्पन्न ग¥यो वा गरेन भन्ने बारे पार्टीमा अभिलेख राख्ने परिपार्टी बसाल्नु पर्दछ । आफूले लिएको जिम्मेवारी समयमै पूरा गर्न नसक्ने अवस्था भए बेलैमा सम्बद्ध निकायमा जानकारी गराउनु पर्दछ । जिम्मेवारी पूरा गरे वा नगरेको आधारमा उचित पुरस्ष्कार र नसियतको व्यवस्था गर्नुपर्दछ ।

ङ. सार्वजानिक कार्यक्रम

कुनै पनि सार्वजनिक कार्यक्रमहरु आमसभा, मार्चपास, र आन्दोलन लगायतका सार्वजनिक कार्यक्रमहरु गर्नुपर्दा कुनै एक वा सिमित नेतृत्वको मात्र तजविजमा नभई आधिकारिक बैठकले नै निर्णय गरेर गर्नुपर्दछ । सो कार्यक्रम किन कहाँ, कहिले र कसरी अनि केका लागि गर्ने भन्ने बारे सुरुमै स्पष्ट हुनुपर्दछ । त्यो कार्यक्रमले प्राप्त हुने अवसर र चुनौतीहरु बेलैमा आँकलन गरी त्यसको लागि विकल्पहरु सोचिनु र तयारी गरिनुपर्दछ । सार्वजनिक कार्यक्रमको प्रभावकारी प्रचार–प्रचार तथा मिडियावाजी गर्नका लागि बेलैमा योजना बनाई जिम्मेवारी प्रदान गर्नुपर्दछ । यस्ता सार्वजनिक कार्यक्रमहरुले प्राप्त गर्ने उपलब्धिहरु हासिल गर्न विशेष नीति, योजना र अभियान नै चलाउनु पर्दछ ।

च. आन्दोलन बारे

आन्दोलन हुनु, आन्दोलनलाई निरन्तरता दिनु र आन्दोलनलाई नयाँ उचाईमा विकास गरेर लैजानु एउटै कुरा होईन । आन्दोलनहरु दोहो¥याइ रहनुले मात्र पनि सही अर्थको आन्दोलन भएको मान्न हुन्न । आन्दोलहरुलाई कसरी नयाँ ढङ्गले, सिर्जनात्मक ढङ्गले वा उद्देश्य प्राप्तिको दिशामा अघि बढाउने भन्ने बारे बढी सजग र सचेत रहनु पर्दछ । कुनै पनि आन्दोलनहरुलाई प्रभावकारी र जनताको मन जित्ने तथा सत्ताधारी विपक्षहरुको मनलाई तहस नहस गर्ने गरी गर्ने भन्ने बारे विशेष रणनीतिहरु सामूहिक रुपमा छलफल गरी तय गरिनु पर्दछ । आन्दोनलमा हुने धन जनको क्षति बारे बेलैमा सही नीति र योजना तय गरिनु पर्दछ । आन्दोलनको उठान र बैठानबारे हाम्रै विगतका अनुभवहरुबाट पनि धेरै कुरा सिकेर अघि बढ्नु पर्दछ । आन्दोलनमा, सञ्चारजगत कसरी सदुपयोग गर्ने र जनतालाई कम मार र क्षति हुने गरी आन्दोलनले दवाब दिन खोजेको पक्ष, निकाय व सत्तालाई बढी मार पर्ने गरी गर्नु जरुरी हुन्छ । आन्दोलनहरुलाई क्षेत्रीय, राष्ट्रिय र अन्र्राष्ट्रियकरण गर्नेतर्फ पनि उन्मुख हुनु पर्दछ । आन्दोलन अगावै, चलिरहेको बेला र पछि पनि अपनाउनु पर्ने गोपनीयता र सतर्कता बारे पनि विशेष ध्यान दिनु पर्दछ । हामीले गर्ने किसिमका आन्दोलनमा विश्वमा कसरी भइ रहेका छन् ? यसमा अहिले भएका आधुनिक प्रविधिहरु कसरी सदुपयोग गर्ने ? शान्तिपूर्ण आन्दोलनलाई पनि कसरी सशस्त्र जतिकै सशक्त बनाउने भन्ने बारे आन्दोलन नै पिच्चे नवीन सोच र सिर्जनाहरु अवलम्बन गरि रहनु पर्दछ ।

छ. जनसंगठनहरुलाई योजनावद्ध रुपमा परिचालन गर्ने ।

ज. महिला र लिम्बुवान भोलेन्टियर्स (L.V.) र विद्यार्थीहरुलाई विशेष रुपले परिचानल गरौं ।

झ. केन्द्रीय कार्यलय, काठमाडौ उपत्यकामा रहने पार्टीको सम्पर्क कार्यलय, सम्पूर्र्ण जिल्ला कार्यलयहरू र गाउँको कार्यलयहरूलाई व्यवस्थित गरौ ।

ञ. जनताका जनजीविकाका सवालहरूलाई पनि मुद्दा बनाएर जाऔं ।

ट.    व्यवस्थित र दिगो संचार तथा प्रचार प्रसार अभियान सञ्चालन गरौं । सामाजिक सञ्जाल Fecebook आदि बारे आचारसंहिता बनाऔं । सामाजिक सञ्जाल दुरुपयोग भएको प्रमाणित भएमा पार्टीको साधारण सदस्य नै नरहने गरि कडा कार्यवाही गर्ने व्यावस्था गरौं ।

ठ.     चुस्त र छिटो, व्यवस्थित, स्थायी, भरपर्दो पार्टीको आन्तरिक संञ्चारको विकास गरौं । SMS को मात्र भर नपरौ ।

ड.     आफ्नो पार्टी र नेता प्रति विश्वास गरौं । नेताहरूले पनि सबै कार्यकर्ता प्रति समान व्यवहार र विश्वास गर्ने गरौं ।

ढ.     पार्टीमा प्रस्तुत गर्नु पर्ने कुनै पनि प्रस्ताव वा मस्यौदा पहिला पार्टी भित्रै छलफल तथा गृहकार्य गर्ने गरौं ।

ण.   आर्थिक मितव्ययी तथा फारोतीनो र पारदर्सी गर्ने प्रक्रियाको थालनी गरौं ।

त.    पार्टीलाई विधिको सर्वोच्चताको आधारमा इमान्दारीपुर्वक चलाऔं ।

थ.     बुद्धिजीवी तथा तुत्तुतुम्म्याहाङहरूको भूमिका बारे स्पष्ट होऔं ।

द.    लिम्बुवानका सामाजिक संघ संस्था, महासंघ, प्रतिष्ठान आदि बारे ।

ध.    प्रत्येक प्रस्ताव तथा विषयको बारेमा पार्टीभित्र समयमै छलफल तथा गृहकार्य गर्ने गरौं ।

न.   फरकमतको सम्मान गर्ने । पार्टी पंङती भित्र केन्द्रदेखि तल्लो तहसम्म सबै अवधारणाको छलफल गराएर लैजाने ।

प.   सम्झौतापरस्त मानसिकता त्यागांै ।

फ.  खुल्ला र स्वस्थ्य प्रतिश्पर्धा गर्ने गरौं ।

ब.   गाउँ, जिल्ला, काठमाडौं आदिमा हुने बैठकहरूमा प्रतिनिधित्व गर्ने सम्बन्धमा निश्चित मापदण्ड अपनाई जिम्मेवारीहरु निर्धारण गरौं ।

१३. लिम्बुवानका नेता कार्यकर्ताहरूको मुलमन्त्र

  • आत्मनिर्भर
  •  सिर्जनशील
  •  मेहनेती÷परिश्रमी
  •  इमान्दार
  • अध्ययनशील
  • अनुशासित
  • गोपनियता
  •  गतिशील
  •  दृढ इच्छाशक्ति
  • पारदर्सी
  •  संयम र धैर्यशाली
  •  व्यवहारिक र जिम्मेवार
  •  सकारात्मक सोच
  •  संगठन विस्तार

(क) स्थानीयतहमा पार्टी संगठन मजबुत गर्नलाई

स्थानीय तहमा संगठन मजबुत पार्नका लागि सक्षम, इमान्दार र लोकपृय स्थानीय नेतृत्व विकास गर्न जरुरी छ । स्थानीय नेतृत्व गलत खालको परेमा संगठन बलियो हुन सक्दैन । त्यसैले स्थानीय नेतृत्व विकासलाई विशेष महत्व दिनुपर्छ । स्थान प्रत्येक नगर, गाविसको वडा वडाको घर संख्याको विवरण संकलन गर्ने । कुन घर कुन पार्टीमा आस्था राख्छ, कति कुन कुन पार्टीमा छन्, हाम्रो पार्टीमा कति छन्, हाम्रो पार्टीमा ल्याउन वा आउन सक्ने सम्भावित को को हुन सक्छन् के के गर्दा हाम्रो पार्टीमा आउन सक्छन् भन्ने बारे रणनीति बनाउने ।
व्यक्ति, घर परिवार, टोल, वडा र गाविस तथा न.पा. को खास समस्या, चाहना र आवश्यकता बारे गहन अध्ययन गरी समाधानका उपायहरु अपनाउँदै संगठन विस्तार गर्ने । त्यो गाविसमा सम्भव भएसम्मको सबै जनवर्गिय संगठनको गठन गर्ने ।
लिम्बुवानको टोल, खोला, नदी, डाँडा, गाउँ, चोक, बजार, धार्मिक स्थल, ऐतिहासिक स्थल आदिको नाम संकलन गर्ने । मेटाइएका ऐतिहासिक नामहरुलाई पुनर्जीवीत गराउने अभियान नै चलाउने । सार्वजनिक स्थलहरुमा बहुभाषिक बोर्ड राख्ने अभियान संचालन गर्ने ।
हाम्रो खास शक्ति, संगठन कुन कुन जिल्लामा कति कति छ थाहा हुन जरुरी छ । युवा, एल.भी., महिला लगायतका सङ्गठनहरु कुनकुन ठाउँमा कति कति छन् यथार्थ जानकारी हुन जरुरी छ । आन्दोलनको खास केन्द्र कहाँ कहाँ हो र खतराहरु के के र कहाँ कहाँ छन् सो बारे जानकारी हुन जरुरी छ ।

(ख) मिडिया÷प्रचार–प्रसारबारे

१. लिम्बुवानका सबै जिल्लामा प्रकाशित प्रसारित पत्र–पत्रिका, एफ.एम., टी.भी. को तथ्यांक संकलन गर्ने । पत्रिका लगायत मिडिया हाउसको सम्पादक, प्रकाशक र संचालकहरुको डाटा लिने । पत्रिका कुन कुन बार प्रकाशित हुन्छन् ? कति पत्रकार छन् ? कति लेखक छन् ? कति लिम्बुवानको पक्षमा छन् कति विरुद्धमा छन् ? अनलाईन कति छन्, कुन कुन हो ? मोवाईलको नेटवर्क कहाँ कहाँसम्म छ ? नेट चल्छ कि चल्दैन ? विजुली लाईन कहाँ छ, छैन ? कस्तो अवस्था छ ? यी सबै कुराको अध्ययन गरेर सोही अनुसार पार्टीको नीति बनाई अवलम्बन गर्नु जरुरी छ ।
२. सिंगो नेपालमा चाहिँ लिम्बुवानको पक्षमा लेख्ने पत्रिका, पत्रकार, अनलाईन, लेखक, विश्लेषक अनि लिम्बुवानको विरुद्धमा लेख्ने को को हो ?
३. हाम्रो स्पष्ट मिडिया रणनीति बनाउने
४. हिजो लिम्बुवानको विरुद्धमा लाग्ने संघ–संस्था, व्यक्तिहरू को को हुन् ? पहिचान गर्ने
५. मिडियामा पहुँच स्थापित गर्न र हाम्रो आप्mनै मिडिया हाउस आवश्यक छ ।
६. लिम्बुवानी भित्तो सञ्चालन गर्ने ।
७. लिम्बुवान भरि वाल पेन्टिङ गर्ने

(ग) प्रशिक्षण

नियमित प्रशिक्षणको लागि प्रशिक्षण पाठ्यक्रमको निर्माण गर्ने । प्रशिक्षक तालिम सञ्चालन गरी तहगत प्रशिक्षक तयार गर्ने । त्यसको क्लास अनुसार विविध विषयहरू तर्जुृमा गर्ने । क्लास अनुसार प्रत्येक महिना प्रत्येक जिल्लामा प्रशिक्षण टोली नियमित गइरहेको हुन्छ ।

(घ) सहकार्य, गठबन्धन, मोर्चा

सहकार्य, गठबन्धन, मोर्चा आदि कुन लक्ष्य र उद्देश्यको लागि बन्ने वा बनाउने हो ? सो बारेमा पहिला प्रष्ट हुनुपर्दछ । यदि लिम्बुवान आन्दोलनको सहयोगको लागि, लिम्बुवान स्थापनाको हितको लागि होइन भने त्यसरी निर्माण भएका सहकार्य, गठबन्धन, मोर्चा आदिमा हाम्रो पार्टी अट्न सक्तैन । तर लिम्बुवान आन्दोलनको सहयोगको लागि, लिम्बुवान स्थापनाको हितको लागि हो भने एक पटक सोच विचार र अध्ययन गर्नु पर्दछ । त्यसपछि यदि सकारात्मक निश्कर्षमा पार्टी पुग्छ भने सहभागी नहुने कुरै भएन । हामीले यथास्थितिवादी सोचभन्दा माथि उठेर परिवर्तनको लागि आफुलाई तयार गर्न सक्नु पर्दछ । सहकार्य, गठबन्धन, मोर्चा आदिले पार्टीलाई, आन्दोलनलाई बल प्रदान गर्दछ । र आन्दोलनले सफलता पाउदै गएपछि अन्त्यमा प्रहार गर्ने शक्ति त फेरि पार्टी नै हून्छ । सहकार्य, गठबन्धन, मोर्चा आदि विषय अस्थायी हुन् । आवश्यक परिन्जेल लिने, नत्र छोड्ने हो । फेरि कहिलेकाहीँ राज्यसत्ताले एक्ल्याएर सिध्याउने योजना पनि लिन सक्छ त्यतिखेर हामी आफैले नै सहकार्य, गठबन्धन, मोर्चा आदिको निर्माण गर्नु पर्ने समय पनि आउन सक्छ ।
अर्को कुरा ऐतिहासिक जातीय पहिचानको आधारमा वा ऐतिहासिक पृष्ठभूमिको आधारमा राज्य प्राप्तिको आन्दोलनको मुख्य आधार लिम्बुवान हो । नेपाली राजनीतिमा पहिचानको आन्दोलनको केन्द्र वा इपिसेन्टर लिम्बुवान आन्दोलन हो । नेपाली राजनीतिमा लिम्बुवान आन्दोलन एउटा रोलमोडलको रुपमा उभिएको छ । सिङगो देशमा तरङ्ग पैदा गरिदिएको छ ।

(ङ) अबको उपाय

सामुहिक नेतृत्व, सामुहिक छलफल, सामुहिक निर्णय, सामुहिक जिम्मेवारी, साझा मनोविज्ञान, प्रष्ट कार्यदिशा, आपसी सम्मान, अनुशासित, इमान्दारीता, मितव्ययी, पारदर्शिता, आपसी विश्वास, एउटै बाटो, एउटै लक्ष्य, एउटै शक्ति, एउटै पार्टी ।

  • सैद्धान्तिक तथा वैचारिक स्पष्टता
  • एकापसमा स्पष्ट पहिचान, खुल्लापन,
  • समावेशी सोच, व्यवहार, संरचना

१५. लिम्बुवान आन्दोलनलाई अब लिम्बुवानवासी जनताले साथ दिनको लागि हाम्रो पार्टीले निम्न कुराहरूमा विश्वास र भरोसा दिलाउँन सक्नु पर्दछ ।

  •  संघीय लिम्बुवान पार्टी, नेपालले लिम्बुवान राज्य स्थापना गर्न सक्छ ।
  • संघीय लिम्बुवान पार्टी, नेपालले लिम्बुवान राज्य स्थापना गरि लिम्बुवानको विकास र आधुनिक समृद्ध लिम्बुवान राज्य निर्माण गर्न सक्छ ।
  • संघीय लिम्बुवान पार्टी, नेपालले लिम्बुवान राज्य र लिम्बुवानी जनताको रक्षा गर्न सक्छ ।
  • संघीय लिम्बुवान पार्टी, नेपाल अरु पार्टीभन्दा इमान्दार, प्रगतिशील र जनमैत्री पार्टी हो ।

१६. लिम्बुवान आन्दोलन सफल हुन

  • अन्तर्राष्ट्रिय समर्थन आवश्यक छ ।
  • राष्ट्रिय रुपमा पहिचान पक्षधर दल, बुद्धिजीवि लगायतको समर्थन आवश्यक छ ।
  • नेपालका आदिवासी तर लिम्बुवानका जनजातिहरूको समर्थन आवश्यक छ ।
  •   लिम्बुवान भूमिमा थातथलो खुलेका आदिवासीहरूको समर्थन आवश्यक छ ।
  •  र अन्य लिम्बुवानबासी जनताको समर्थनको आवश्यक छ ।

१७. अबका कार्यक्रम

  • आधार गाउँहरू निर्माण गर्ने ।
  • पार्टीको केन्द्रीय कार्यलय, सबै जिल्ला कार्यलय, सम्भव भएका महत्वपूर्ण शहर तथा गाउँहरूको कार्यलयहरूमा, काठमाडौं उपत्यकाको कार्यलयमा लिम्बुवान पुस्तकालयको स्थापना गर्ने । सो पुस्तकालयमा १. लिम्बुवान सम्बन्धी पुस्तकहरू

२. लिम्बुवानका नेताहरूद्धारा लिखित पुस्तकहरू
३. लिम्बुवानका थातथलो खुलेका जातिहरूको बारेमा प्रकाशित पुस्तकहरू
४. आदिवासी जनजाति सम्बन्धी पूस्तकहरू, जर्नलहरू
५. संघीयता, स्वायत्तता, स्वशासन, आत्मनिर्णयको अधिकार, पहिचान आदिसंग सम्बन्धित पुस्तकहरू
६. राज्य संचालनका लागि उपयोगी विभिन्न पुस्तकहरु

  • लिम्बुवानका सबै जिल्ला, महत्वपूर्ण शहर तथा केन्द्रहरूमा, काठमाडौं उपत्यका र प्रवास समितिहरूमा कम्तिमा महिनामा एक पटक विभिन्न विषयमा लिम्बुवानी बहस कार्यक्रम सञ्चालन गर्ने । जिल्ला, क्षेत्र, गाउँ, शहर, टोलहरुमा व्यापक अन्तरक्रिया संचालन गर्ने ।
  • लिम्बुवानी साहित्य सन्ध्या सञ्चालन गर्ने ।
  • लिम्बुवानी साँस्कृतिक कार्यक्रम प्रस्तुत गर्ने ।
  • लिम्बुवानी खेलकुद आयोजना गर्ने ।
  • वेभ अनलाईन सञ्चालन गर्ने, पत्रिका प्रकाशन गर्ने ।
  •  लिम्बुवानी कविता संग्रह, कथा संग्रह प्रकाशन गर्ने ।
  •  लिम्बुवानी जागरण गीत निर्माण गर्ने ।
  •  लिम्बुवान र पार्टीको बारेमा प्रष्ट लेखिएको एक पुस्तिका प्रकाशन गर्ने ।
  • भावी लिम्बुवान स्वायत्त राज्यको स्वरुप (खाका) को पुस्तिका प्रकाशन गर्ने

१८. सिर्जनशील लिम्बुवानको निर्माण

  •  सबै तहका नेता, कार्यकर्ताहरूले प्रत्येक दिन कम्तीमा एक घण्टा अनिवार्य पढ्नु पर्ने ।
  •  अध्ययन, अनुसन्धान, छलपल र बहको अभ्यास गर्ने ।
  •  लिम्बुवानमा धेरैभन्दा धेरै सिर्जनशील युवा तथा सबै खालको जनशक्तिको विकास गर्ने ।
  •  लिम्बुवानमा धेरैभन्दा धेरै बौद्धिक व्यक्तित्व, प्राविधिक, कलाकार, खेलाडी, साहित्यकार, लेखक, पत्रकार, वकिल, उद्योगी व्यवसायीहरुको सिर्जना गर्न पहल गर्ने ।

१९. स्वास्थ्य लिम्बुवान

 

  •  बिहान सबेरै उठ्ने, प्रत्येक दिन विहान ३० मिनेटदेखि १ घण्टासम्म व्यायम तथा योगा गर्ने ।
  •  शारीरिक परिश्रमको काममा गरिरहने ।
  •  कम्तीमा प्राथमिक स्वायस्थ बारे जानकार भई सर सहयोग गर्ने ।
  •  अग्र्यानिक खेती र खानपिनमा ध्यान दिने ।
  •  स्वास्यलाई असर गर्ने परम्परागत खाद्य पदार्थहरुको सेवन त्याग्दै जाने ।

२०. काठमाडौं

  • काठमाडौ उपत्यकामा बुद्धीजिवि, अन्य राजनीतिक दल, कुटनीतिक नीयोग आदिसँग नियमित भेटघाट र छलफल गर्ने ।
  • लिम्बुवान सम्बन्धी कार्यक्रम गर्ने ।
  • धर्ना, प्रदर्शन तथा दवाव मुलक कार्यक्रमहरू गर्ने ।

२१. पार्टीको मुखपत्र, स्मारिका र जर्नल आदि प्रकाशन

पार्टीको मुखपत्र साप्ताहिक पत्रिका दर्ता गरी प्रकाशन गर्ने । सम्पूर्र्ण लिम्बुवान पक्षधर बुद्धिजीविहरूलाई लिम्बुवान आन्दोलनको बारेमा नियमित अनुसन्धानमूलक लेख लेख्न र जर्नल प्रकाशन गर्न आग्रह गर्ने ।

२२. पार्टीका नेता कार्यकर्ताको अबको कामको प्राथमिकता

 

  •  गाउँको कामलाई प्राथमिकता दिने र साथै बजार, शहर, सदरमुकामको कामलाई पनि नछोड्ने ।
  •  प्राथमिकताका साथ एक गाउँलाई आधार गाउँको रुपमा विकास गर्दै गर्ने र साथै अर्को गाउँहरूमा पनि केही क्रियाकलाप थाल्दै गर्ने ।
  • आन्दोलन, संगठन विस्तार, प्रशिक्षण, अन्तरक्रिया आदिलाई प्राथमिकता दिने र साथै आमसभालाई पनि जारी राख्ने ।
  • आफ्नै पार्टीको संगठानिक शक्तिमा भर परि लिम्बुवान आन्दोलनलाई प्राथमिकता दिने र साथै सहकार्य, गठबन्धन, मोर्चा, राष्ट्रिय तथा अन्तराष्ट्रिय जनमतको सहयोग र समर्थन लिने कुरामा पनि जोड दिने ।
  • जनताका काम र समस्यालाई साथै पार्टीको कामलाई संगसगै प्राथमिकता दिने ।

२३. पार्टीले अब के गर्ने

  • आफ्नो मागको आधारमा निरन्तर संघर्ष गर्ने ।
  • जसमाः धर्ना, प्रदर्शन, अन्तरक्रिया, संगठन विस्तार, प्रशिक्षण, सभा, जुलुस, बन्द, हड्ताल आदि ।
  • एकात्मक सत्ता र एकात्मक सत्ताका अंगहरू विरुद्ध लगातार असहयोग, प्रहार, हस्तक्षेप गर्ने ।
  • जसमाः क. जिप्रका, जिविस, जिशिअ, गाविस, स्कुल, हेल्थपोष्ट, एनजिओ, आईएनजीओ आदि ।
  • भ्रष्टचार, दलाल, विचौलिया, तस्कर, अवसरवादी, जाली फटाहा आदि ।
  •  गाउँ गाउँबाट चोक, बजार, सदरमुकाम र शहर घेर्नको लागि आधार गाउँ निर्माण गर्न तत्काल अध्ययन प्रारम्भ गरौं
  •  लिम्बुवान संघर्ष समिति निर्माण गर्न पहल गर्ने ।

२४. पार्टी संस्थागत गर्नका लागि प्रतिवद्धता

 

  • लिम्बुवान राज्य स्थापना र समृद्ध लिम्बुवान राज्य निर्माणसम्म निरन्तर एक भएर पार्टीलाई लैजाने प्रतिवद्धता व्यक्त गर्दछौं ।
  • लिम्बुवान आन्दोलनको क्रममा आन्दोलनलाई कमजोर पार्न सत्ताधारीहरू वा अरु कसैले षडयन्त्रपूर्वक प्रस्ताव गर्न सक्ने प्रलोभनमा नफस्ने । पार्टीको निर्णय विपरित कुनै नेताले कदम नलिने ।
  • लिम्बुवान आन्दोलनमा लागेका सम्पूर्र्ण नेता, कार्यकर्ताहरूको लागि लिम्बुवान राज्य प्राप्तीपछि उनिहरूको भविष्य र व्यावस्थापनको पूर्ण जिम्मेवारी साथै सुरक्षा लिम्बुवान सरकार, पार्टी र नेताहरूले लिने ।
  • पुरानो राजनीतिक मुल्य र मान्यताभन्दा फरकशैलीको राजनीतिक मुल्य, मान्यता र शैलीको विकास, व्यवहार अवलम्बल गरेर जाने । म नेता या शासक भन्दा पनि म जनताको सेवक हुँ भन्ने भावनाको विकास गरेर जाने ।

२५. निष्कर्ष

हिजो जुन गतिमा काम ग¥यौ, हिजो जुन तरिकाले सोच्यौ, अब त्यो तरिकाले हाम्रो पार्टी र लिम्बुवान आन्दोलन अघि बढ्न सक्तैन । हिजोको जस्तै हाम्रो हिडाइले अब गन्तव्यमा पुग्न सकिन्न ।
पहिलो कुरा त एकता सम्पन्न भयो, अत्यन्तै खुशीको कुरा हो । एकता प्रक्रिया सम्मानजनकरुपमा सम्पन्न भएको छ । एकता हुनु हामी आफ्नै अराजनीतिक संस्कार, अपरिपक्व, दिशाहीन राजनीतिबाट विजय हासिल गर्नु हो ।
दोस्रो कुरा, अब एकतापछि लिम्बुवान विरोधीहरूको विरुद्धमा एक भएर लड्न सक्नुपर्दछ । लिम्बुवान विरोधीहरूलाई पराजित गरी लिम्बुवान राज्यको स्थापना गर्नुपर्दछ । शताव्दीयौंदेखि पीडित, विभेदित, अन्याय, अत्याचार, शोषण, दमन भोगिरहेका लिम्बुवानी जनताको मुक्ति र स्वतन्त्रताको आकांक्षालाई पूरा गर्न लिम्बुवान सरकारको गठन, लिम्बुवानको विकास र आधुनिक तथा समृद्ध लिम्बुवान निर्माण गर्न अपरिहार्य छ ।
जय लिम्बुवान !

खगेन्द्र माखिम
उपाध्यक्ष
संघीय लिम्बुवान पार्टी, नेपाल

संघीय लिम्बुवान पार्टी, नेपाल
केन्द्रीय कार्य समितिको पहिलो बैठक
२०७१ पुष ५, ६ र ७
दमक, झापा, लिम्बुवान, नेपाल ।

संघीय लिम्बुवान पार्टी, नेपाललाई संस्थागत विकास गर्नेबारे एक अवधारणा – download

  • Share this post:
  • Facebook
  • Twitter
  • Delicious
  • Digg

Tags:

Comments Off

Comments are closed.