संघीय लिम्बुवान पार्टी, नेपालको मार्गनिर्देशक सिद्धान्त बहुलराष्ट्रिय सहअस्तित्ववाद बारे प्रारम्भिक बहस

१. प्रारम्भ

कुनै पनि राजनीतिक पार्टीको मार्ग निर्देशक सिद्धान्त (Guiding Principle) भन्नु उक्त पार्टी आफै सञ्चालन हुने र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभवसमेतको आधारमा मुलुकमा रहेका समस्याहरुलाई सुल्झाउन एवं विकासका बाटोहरुलाई खुलाउन पथप्रदर्शन गर्ने विचार वा सिद्धान्तलाई बुझ्नु पर्दछ ।
संघीय लिम्बुवान पार्टी, नेपालले आन्तरिक पार्टी सञ्चालन र मुलुकमा रहेका विद्यमान राजनीतिक, सामाजिक, साँस्कृतिक एवम् विकाससँग सम्बद्ध लगायतका समस्याहरुलाई बुझ्नका साथै आफूसँग मिल्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभव र ज्ञानका आधारमा आफ्नो राजनीतिक मार्ग निर्देशक सिद्धान्तको रुपमा बहुलराष्ट्रिय सहअस्तित्ववादलाई अवलम्बन गर्न यसबारे प्रारम्भिक बहस सुरु गरिएको हो । यस बहसमा हामी सबैको सहभागिता र योगदानको आवश्यकता पर्नेछ । यसमा हामी सबै सहभागी भई सक्दो योगदान दिने नै छौं भन्ने विश्वास समेत गरिएको छ ।

२. ‘‘बहुलराष्ट्रिय’ ‘सहअस्तित्ववाद’’ (Plurinational Co-existentialism) बारे प्रारम्भिक बहस

नेपालमा जति पटक आन्दोलन भए तापनि समाधान हुन नसकेको समस्याको मुख्य जड के हो ? अहिले सम्ममा पनि नेपाल किन बन्न सकेन र नेपाली जनता, नेपाली समाजलाई मजवुद बनाउँने बाटो के हुन सक्छ, यस बारेमा बहुल राष्ट्रिय सहअस्तित्ववाद एउटा मौलिक तथा वैकल्पिक मार्ग हुन सक्छ । यसको बारेमा प्रवेश गर्न अघि निम्न विषयमा पहिला स्पष्ट हुन आवश्यक छ ।

‘राष्ट्र’ (Nation) शव्द ल्याटिन भाषाको नासियो (Natio) बाट विकास भएको हो । जसको अर्थ समान भाषा बोल्नेहरुको समुह भन्ने हुन्छ । ‘राष्ट्र’(Nation) भन्नाले भाषा, संस्कृति, जातीयता, उत्पत्ति तथा इतिहास साझा भएका साँस्कृतिक समुदाय, जसको साझा भुभाग छ या भुभागको दावी छ, त्यसलाई ‘राष्ट्र’ भनिन्छ ।  र साथै राष्ट्र भनेको सांस्कृतिक र जातीय अस्तित्व पनि हो । राष्ट्र भनेकै जनता हुन्, जनताका हक, हित र अधिकारबाटै राष्ट्रियता निर्माण हुन्छ । ‘राष्ट्र’ समान पहिचान सहितको जनसमुदाय जसले सामुहिक साजनितिक निर्णयहरुबाट आफ्नो लक्ष्य र भविश्य आफै निर्धारण गर्छ वा गर्न चाहन्छ । यस्तो कार्य राज्यको हैसियत प्राप्त गर्न, जगेर्ना गर्न वा सुदृढीकरण गर्नमा परिलक्षित हुन्छ । ‘राष्ट्र’ शव्दको अर्थ जातीय अर्थमा त्यस बेला पनि प्रयोग हुन सक्छ जब कुनै समुदायले छुट्टै इतिहास, छुट्टै भाषा, अलग रहनसहन र थातथलोका आधारमा आफुलाई सांस्कृतिक तथा सामाजिक समुदायका रुपमा परिभाषित गर्छ ।

राज्य (State) भनेको राजनीतिक र भुराजनीतिक अस्तित्व हो । राज्य निश्चित भौगोलिक सीमाभित्र सार्वभौम नियन्त्रण भएको राजनीतिक सङगठन हो । राज्यले विधिविधान, संयन्त्र र प्रक्रियाहरुका माध्यमबाट आफ्नो भुभागका जनतालाई बल प्रयोग गर्न अधिकारद्धारा नियम पालना गराउन बाध्य पार्ने हैसियत राख्दछ । अन्तराष्ट्रिय कानुनअनुसार राज्यका रुपमा यसको हैसियत केहि हदसम्म अन्य राज्यहरुद्धारा दिइने मान्यतामाथि निर्भर गर्छ ।

राष्ट्रियता (Nationality): राष्ट्रियता अङ्ग्रेजी ल्बतष्यलबष्तिथ शव्दको खसनेपाली उल्था हो ।  राष्ट्रबाट राष्ट्रियता बन्दछ । राष्ट्रको अस्तित्व र पहिचान अनि त्यसप्रतिको गर्व नै राष्ट्रियता (Nationality) हो । राज्य भित्र रहेका जाति (राष्ट्र), भाषा, संस्कृतिहरुले राज्यको स्वरुप र चरित्रलाई निर्धारण गर्दछ । यहि राज्यको स्वरुप र चरित्रले समग्र राज्यको राष्ट्रियताको निर्धारण गर्दछ ।

राष्ट्र–राज्य (Nation-State): एउटै जाती(राष्ट्र),सांस्कृतिक समुदाय भएको जस्को देश हुन्छ, त्यसलाई राष्ट्र–राज्य (Nation-State) भनिन्छ । जस्तोः जापान, फ्रान्स आदि ।

बहु–राष्ट्र राज्य (Multi-Nation State): दुई वा दुईभन्दा बढी सांस्कृतिक समुदाय या राष्ट्रहरु जसको प्रशासनिक भौगोलिक सीमा हुन्छ र एउटा राज्यको अस्तित्वमा रहेका हुन्छन् त्यस्तो राज्यलाई बहु–राष्ट्र राज्य (Multi-Nation State) भनिन्छ ।

धेरै जातीय तथा सांस्कृतिक समुदायहरु जस्तोसुकै विकासको अवस्थामा रहेपनि राष्ट्र हुन् र समान रुपमा सहअस्तित्वका साथ एउटै राज्यमा रहन्छन् भने त्यस्तो राज्यलाई बहुल–राष्ट्र राज्य (Pluri-National State) भनिन्छ । बहुल समाज (Plural Society) भनेको त्यस्तो समाज जहाँ दुई वा दुईभन्दा बढी पृथक् सांस्कृतिक, धार्मिक र सामाजिक समुहहरु सह–अस्तित्वमा रहन्छन् ।

बहुलराष्ट्रिय राज्य (Pluri-Nation State): दुई वा दुईभन्दा बढी राष्ट्रको जनसङ्ख्या भएको राज्य बहुलराष्ट्रिय राज्य हो । बहुलराष्ट्रिय राज्य भन्नाले विशेष गरी जनसंङख्याको सामाजिक–आर्थिक विविधतालाई सम्मान गर्ने र प्रोत्साहित गर्ने राज्यलाई बुझाउँछ ।

‘बहुल राष्ट्रियवाद’ (Plurinationalism): आधुनिक विश्वमा राष्ट्रियता र राजनीतिक व्यवस्थाको जटिलताहरुबारे बुझ्नका लागि हामीले एकै किसिमको व्यवस्थामा आधारित राज्यत्वको पुरानो ढाचा, चाहे त्यो संघीय वा एकात्मक होस्, भन्दा माथि उठ्न वा त्यसभन्दा बाहिर निस्कन आवश्यक छ । बहुराष्ट्रिय राज्य (Multinational State) को अवधारणाले वास्ताविकतालाई निक्कै नजिकबाट पकड्न त खोज्दछ तर त्यो पूर्ण सन्तोषजनक छैन । यसले विभिन्न राष्ट्रहरुको अस्तित्वलाई उनीहरुको विशिष्ट पहिचानहरु कायम राखेर एउटै सङ्गठन, संघ वा महासंघमा एकसाथ ल्याइने प्रक्रियालाई जनाउँदछ ।  यसले केही अवस्थाहरुलाई सही तरिकाले व्याख्या गरे पनि ‘राष्ट्र’ (nation) को खास अवधारणा र अर्थ एकपछि अर्कोमा फरक पर्न सक्दछ । राष्ट्रियतालाई साँस्कृतिक वा व्यक्तिगत तहमा सिमित गरिएको अथवा अझ बढी राजनीतिकृत गरिएको हुनसक्दछ । कुनै एक व्यक्तिको बहुमुखी राष्ट्रिय पहिचानहरु हुनसक्दछ र ती पहिचानहरुलाई कुनै ठाउँमा अझ बढी र कुनै समयमा अरुभन्दा बढी राजनीतिकृत गरिएको पनि हुनसक्दछ । पहिचानहरु धेर या थोर भू–क्षेत्रीय स्थानहरुमा परस्पर खप्टिने या मिल्नजाने हुन सक्दछन् । वास्तवमा, राष्ट्रको लागि आफ्नै तवरले प्रतिनिधित्व गर्नसक्ने सम्भावना हुनु भनेको आत्मनिर्णयको अधिकारको मूल सार पनि हो । त्यसैले, ‘बहुल राष्ट्रियवाद’ (Plurinationalism) भन्ने पदावलीले नै धेरै तरल र बहुलवादी चरित्र भएको सामाजिक यथार्थलाई राम्ररी पकड्दछ । यसले पहिचानका धेरै जटिल सवालहरुलाई पनि अरुभन्दा स्पष्ट तरिकाले प्रस्तुत गर्दछ । यहाँ केवल साँस्कृतिक बहुलता वा विशेष नीतिगत सुविधाको दावी मात्र नभएर राष्ट्रियताकै दावीसहितको दलिल गरिएको महत्वपूर्ण कुरामा जोड दिइएको हो ।

सहअस्तित्व (Coexistence): एकआपसको विविधतालाई स्वीकार गरी एक अर्काको पहिचानलाई सम्मान गर्दै सँगै बस्ने मान्यता तथा संघीय राज्यमा यसले विभिन्न समुदायहरुको अलगअलग पहिचानको मान्यतासहित स्वशासन र स्वायत्तता प्रदान गरिने संवैधानिक पद्धतिलाई सहअस्तित्व (Coexistence) भनिन्छ ।

अस्तित्व (Existence): को लागि बाँच्न, टिक्न र आफ्नो पहिचान स्थापित गर्नका लागि हरेक व्यक्ति, समुह, संगठन आदिले हरेक प्रतिकुल अवस्थासित संघर्ष गर्नु र प्रतिरोधमा उत्रनु नै अस्तित्वको लागि संघर्ष गर्नु हो । सबै चीजहरुले आ–आफ्नो ठाउँमा बाँच्नको लागि संघर्ष गरिरहेका हुन्छन् । त्यसैले यो संसार गतिशिल भएको हो । कुनै पनि वस्तुको अस्तित्वलाई सिर्फ रुप र सारमा सिमित गर्न सकिन्न । अस्तित्वविना कुनै पनि वस्तुको रुप र सारको सम्भावना रहन्न साथै रुप र सार विना पनि अस्तित्व सम्भव हुदैन । अस्तित्व भएकोले नै सारा चीज तथा घट्नाक्रमहरुलाई बुझ्ने आधार बनेको हो । वास्तवमा अस्तित्व भएको कारणले नै व्यक्ति, समाज, संगठन भएको हो । र अस्तित्वको लागि संघर्ष गर्नु भनेको नै त्यसलाई गति प्रदान गर्नु, परिवर्तन ल्याउँनु, विकास गर्नु हो, निर्मुल पार्नु हाईन । पहिचान दिनु हो, पहिचान विहिन बनाउँनु होइन । अवरोध गर्नु, भत्काउँनु, थुन्नु, छेक्नु होइन, सिर्जनात्मक ढंगले, सकरात्मक ढंगले परिवर्तन, विकास गर्नु हो । समाजलाई मार्ग प्रशस्त गर्नु हो ।

३. अस्तित्ववाद (Existentialism)

मानवीय अस्तित्व र अनुभूतीहरुको बुझाईको दार्शनिक दृष्टिकोण अस्तित्ववाद हो । यसको धरातलीय आधार भनेको व्यक्तिहरुको स्वतन्त्रता र उनीहरुको छनौट र कार्यप्रति आफै उत्तरदायी हुनु हो । त्यसकारण हामी परिस्थितिको सिकार हुने होइनौ हामी हाम्रो छनौटको कारण हाम्रो अस्तित्वको निर्धारण हुने गर्दछ । अस्तित्ववाद एउटा सोचाईको दार्शनिक पथ हो जुन अन्य दार्शनिक दृष्टीभन्दा फरक हुन्छ । यसले इच्छा र चेतना सहितको मानवलाई इंगित गर्दछ जुन संसारमा भएका अन्य जीवहरुमा पाईदैन । सहि अर्थमा अथ्र्याउने हो भने मानवहरु नैतिकता प्रति ज्यादा नै चेतनशील हुन्छन् जसको कारण उनीहरुले जीवनको बारेमा निर्णय गर्नै पर्छ वास्तवमा यहि हो अस्तित्ववाद, अन्ततोगत्वा अस्तित्ववाद नै मनावतावाद हो ।

अस्तित्ववाद डेनिश दार्शनिक किर्क गार्डले (१८१३ (१८५५) १९ औ सताव्दिमा सुरुवात गरेको मानिन्छ । त्यसकरण उनलाई अस्तित्ववादको पिता पनि मानिन्छ । तर यसको बृहत छलफल र यस दर्शन सम्बन्धी बिभिन्न बिचारहरु सन् १९४० को दशकदेखि भएको छ ।

मानवीय पहिचान र अस्तित्व सास्वत कुरा हुन् । तर मानवीय अस्तित्व र पहिचान अन्य जीवहरुसंग फरक हुन्छ । मानवलाई अन्य जीवसंग फरक बनाउने तत्व भनेको मानव निर्मित तत्व सभ्यता वा संस्कृति हो । संस्कृतिले नै मानवीय सोचाई, नैतिकता र व्यक्तित्व निर्माण गर्ने गर्दछ । आजसम्म यस धर्तीमा धेरै मानव सभ्यता या संस्कृतिको निर्माण भैसकेको छ । निर्माण भएका धेरै सभ्यताहरु लोप भईसकेका र केहि लोपोन्मुख अवस्थामा छन् । यस्ता सभ्यताहरुको अस्तित्व संरक्षण कसरी गर्ने भन्ने बिषयमा अहिले निकै बहस र छलफल भएको पाइन्छ । यस्ता सबै सभ्यताहरुको अस्तित्व संरक्षण गर्न जरुरी छ ।

बहुल राष्ट्रिय सहअस्तित्ववाद विना बहुजातीय, बहुभाषिक, बहुसाँस्कृतिक, बहुधार्मिक समाज बन्ने संभावना छैन । देशको संरचना संघीय भए तापनि समाजको संरचना एकात्मक नै रहनेछ । र राजनीतिक असमानता तथा आर्थिक असमानता कायम नै रहन्छ । शताव्दीयांदेखि उठन नसकेको, विकास हुन नसकेको, जाति, भाषा, धर्म, लिपि, संस्कार, शिक्षा, राजनीतिक, आर्थिक आदिलाई उठाई आधुनिक तथा समृद्धशाली बनाउन, देश र लिम्बुवानको भविश्य सुनिश्चित गर्न बहुल राष्ट्रिय सहअस्तित्ववादी सोच, व्यवहार, पहलकदमी स्थापित गर्न सक्नुपर्दछ । समाज, राज्य र देशको विकासको प्रमुख आधार न्यायपूर्ण आर्थिक वितरण र विकास हो यसको लागि सहअस्तित्ववादी सोचले निर्देशित हुन जरुरी छ । बहुल राष्ट्रिय सहअस्तित्ववाद नेपालको द्वन्द्व, असमानता, जातीय विभेद र राष्ट्रिय मुक्ति आन्दोलनको प्राकृतिक समाधानको मार्ग हो ।

जातीय छुवाछुत र जातीय विभेदको अन्त्यको आधार भनेको सबै जात, जाति, भाषा, धर्म, संस्कार, संस्कृति आदिलाई समान रुपमा सबैले एकआपसमा ह्रदयदेखि स्वीकार गर्नु हो । समाजमा एकले अर्कालाई समान ढंगले स्वीकार गर्ने, एकले अर्काको अस्तित्व समान ढंगले स्वीकार गर्ने वातावरण बनेर व्यावहारमा समान ढंगले स्थापित नहुने हो भने आर्थिक उन्नती, विकास, राजनीतिक मुक्ति र स्वतन्त्रता सिर्फ काल्पनिक आदर्श मात्रै हुन जान्छ । हामी गंभीर हुनु पर्दछ, यति लाामो कालसम्म समाजको उन्नती, प्रगती सोचे जस्तो विकास किन हुन सकेन, यसको मुलकारण एकले अर्काको पहिचान व्यक्तिगत रुपमा स्वीकार गरेको जस्तो देखिए तापनि ह्रदयदेखि स्वीकार गरेको अवस्था छैन । समाजको प्रमुख आधार व्यक्ति हो, मानिस हो । यसरी मानिसको जीवनको उच्च मूल्य प्रति नै प्रश्न उठेपछि समाज विकास, आर्थिक उन्नती, राजनीतिक मुक्ति र स्वतन्त्रता कसरी सम्भव हुन्छ ?
अहिलेसम्म नेपाली समाजमा सद्भाव, एकता र अखण्डता निश्चित जात÷जातिका शासक वर्गको स्वार्थ र हितका लागि अन्य शोषित, उत्पीडित जाति सबैको हक, हित र स्वार्थको तिलाञ्जलीको स्वार्थमा मात्रै हालसम्म समाजमा सहअस्तित्व कायम रहेको अवस्था छ । के हामी समाजमा वास्तविक सद्भाव, एकता चाहान्छौै ?

बहुल राष्ट्रिय सहअस्तित्ववाद सहअस्तित्वमा आधारित राजनीतिक (सिद्धान्तउन्मुख) विचारधारा हो । समाजमा रहेका कुनै पनि तह र तप्काले समान ढंगले व्यक्ति, जात, जाति, भाषा, धर्म, संस्कार, चाडपर्व आदि सबैमा ह्रदयदेखि नै एकले अर्काको पहिचान स्वीकार गर्ने वातावरण हुनु पर्दछ भन्ने हो । र कथित ऐन कानुनको भरमा निर्मित बनावटी समाजको संरचना होईन, समाजको संरचनाको आधार वास्तविक तथा प्राकृतिक सद्भाव र एकता कायम हुनु पर्दछ ।

४. संघीय सहअस्तित्ववाद र बहुलराष्ट्रिय सहअस्तित्ववादमा फरक

हामीले संघीयतामा मात्र सहअस्तित्व खोजेका होइनौं । हामीले त सिङ्गो राष्ट्र राष्ट्रियता विश्व सामाजिक जगतमै सहअस्तित्व खोजेका हौं । संघीय सहअस्तित्व भन्नु र बहुलराष्ट्रिय सहअस्तित्व भन्नु फरक फरक कुराहरु हुन् । संघीय सहअस्तित्वले बहुलराष्ट्रिय सहअस्तित्वको अवधारणालाई पूर्ण रुपले पकड्न र समेट्न सक्दैन । बरु, बहुलराष्ट्रिय सहअस्तित्ववादको अवधारणात्मक सिद्धान्तले संघीय सहअस्तित्ववादको रुपमा विकसित गर्न खोजिएको विचारलाई समेत पकड्न र समेट्न सक्दछ ।

मुलुकको संरचनाको रुपमा हामीले चाहेको संघीयता त हो । तर संघीयता पनि विभिन्न किसिमको हुन्छ । संघीयता भौगोलिक र भाषिकमात्र पनि हुन्छ । भौगोलिक संघीयता भयो भने पनि संघीय त हुन्छ नै । अब हामीेले यही भौगोलिक संघीयतामा त्यहाँका बहुल राष्ट्र र राष्ट्रियताहरुको कुनै सम्बोधन नगरिएको संघीयताले हाम्रो पहिचान र मुक्ति सम्भव हुँदैन । साथै, भौगोलिक संघीयतामा सहअस्तित्व खोज्ने कुरा पनि भएन । यसैमा सहअस्तित्व दिऊँला भने पनि हामीले मान्ने कुरै भएन । फेरि, मुलुक संघीय मात्र त तुरुन्तै पनि हुन सक्दछ । तर हामीले चाहेको जस्तो पहिचानमा आधारित संघीयता हुन अझै पनि हामीले धेरै समय खर्चेर रगत र पसिना बगाउनु पर्ने पनि हुन सक्दछ । हामीले चाहेको संघीयता यहाँका धेरै जातीय जनसङ्ख्यामा रहेका जाति तथा राष्ट्रहरुको लागि मात्र नभई यही लिम्बुवानमै थात्थलो भई अल्पसङ्ख्यामा रहेका सिमान्तकृत धिमाल, आठपहरीया, याक्खा, लेप्चा, याम्फु, लोहोरुङ, मेवाहाङ, सन्थाल, सतार, तोक्पेगोला लागायतका जाति तथा राष्ट्रहरुको लागि पनि हो । साथै, लिम्बुवानका जनजातिहरु राई, तामाङ, गुरुङ, मगर, शेर्पा, थारु, नेवार लगायतका जाति तथा राष्ट्रहरुको मुक्ति र पहिचानको सवाल पनि महत्वपूर्ण पक्ष हो । यसका साथै, लिम्बुवानमा रहेका गैर जनजाति खस, आर्य (बाहुन, क्षेत्री) दलित र धार्मिक अल्पसङ्ख्क मुस्लिम लगायतको विषयलाई पनि हामीले सम्बोधन गर्नै पर्दछ । यी तमाम् बहुल जाति या राष्ट्र तथा जात र धार्मिक समुदायहरुको पहिचानको सवाललाई सम्बोधन गर्ने, विकास र प्रगतिमा उन्मुख गराउने सिद्धान्त संघीय सहअस्तित्ववाद भन्दा पनि बहुलराष्ट्रिय सहअस्तित्ववाद नै हो र हुनसक्दछ ।

५. नेपालको सन्दर्भमा बहुलराष्ट्रिय सहअस्तित्ववाद

नेपालको सन्दर्भमा बहुलराष्ट्रिय सहअस्तित्ववाद निम्न बुँदागत मुद्दाहरुमा हाम्रो पार्टीले लिएको आधारभुत अडान तथा विचारलाई पृष्ठपोषण गर्ने, सही दृष्टिकोषण दिने र मार्गनिर्देश गर्ने सिद्धान्तको रुपमा बुझ्न, उपयोग गर्न र विकास गर्न आवश्यक छ ।

१. संघीय व्यवस्था
२. ऐतिहासिक जातीय पहिचानको आधारमा राज्य वा प्रदेशको घोषणा
३. गणतन्त्र
४. समावेशी लोकतन्त्र
५. धर्मनिरपेक्षता
६. बहु÷बहुलभाषिक नीति
६. पुर्ण समानुपातिक निर्वाचन प्रणाली
७. आन्तरिक आत्मनिर्णयको अधिकार
८. सहअस्तित्व
९. न्यायिक समानता
१०. समानुपातिक प्रतिनिधित्व
११. स्वतयत्तता÷स्वशासन÷स्वायत्त क्षेत्र÷संरक्षित क्षेत्र÷विशेष क्षेत्र
१२. राजनीतिक समानता
१३. आर्थिक समानता
१४. लैगिक समानता
१५. समान पहुँच
१६. छुवाछुत तथा विभेद रहित समाज
१७. समान विकास
१८. अपाङगमैत्री समाज तथा पुर्वधार
१९. कृषकले आफ्नो उत्पादनको मुल्य आफै तोक्ने अधिकार
२०. गुणात्मक, व्यवहारिक तथा वैज्ञानिक शिक्षा
२१. सुलभ र प्रभावकारी स्वास्थ्य उपचारको व्यवस्था
२२. सरकारी जागिरमा समानता
२४.विदेशमा गई पिडादायक मजदुरी गर्नु पर्ने बाध्यताको विकल्पको रुपमा स्वदेशमै रोजगारीको ग्यारेण्टी गर्ने ।
२५. आई एल ओ १६९ र युएनड्रीपको कार्यन्वयन हुनु पर्ने ।
२६. एकात्मक राज्यद्धारा शताब्दीयौदेखि कानुनी रुपमा विभेदमा पारिएका आदिवासी जनजाति, महिला, दलित लगायतसंग राज्यले सार्वजानिक रुपमा लिखित माफी माग्नु पर्ने ।
२७. नवउपनिवेशवाद विरुद्ध लड्ने वैचारिक एव वैकल्पिक सिद्धान्त ।

६. विश्वको सन्दर्भमा बहुलराष्ट्रिय सहअस्तित्ववाद

राजनैतिक शक्तिले देशको हरेक क्षेत्रलाई निर्धारण गरेको हुन्छ । देशको केन्द्रीय राजनीतिमा फेरबदल हुंदा देशको सबै क्षेत्रमा प्रभाव पर्न जान्छ । राजनैतिक दर्शन आजभन्दा २५०० वर्ष अगाडि नै राज्य संचालन गर्न निर्माण हुन थालेको थियो । हिजो कै दर्शनलाई आधार मानेर १८ औं, १९ औं र २० औं शताव्दीमा धेरै दर्शनहरु अस्तित्वमा आए । तिनै दर्शनहरुको आधारमा धेरै देशहरु विकासको चरम सिमामा पुगे । विश्वका शक्तिशाली देशहरु सूत्र प्रयोग गरी विकास गर्न तम्सिरहेका छन् । भौतिक विकास मानिसको सोचाइको क्षितिजभन्दा पर पुगिसक्यो तर विश्व शान्तिमा दिनहुँ नकारात्मक प्रभाव पर्दै गइरहेको छ ।

आज पाश्चात्य देशहरुले पूर्वीय देशहरुमाथि आक्रमण गरिरहेका छन् । त्यसरी नै अफ्रिकन मुलुकहरुमा पनि उनीहरुको आक्रमण जारी छ । यसो हुनु भनेको एकले अर्काको अस्तित्व नस्वीकार्नु हो । जसका कारण हजारौं जनधनको विनाश दिनहुँजसो भइरहेको छ । यसले सिंगो मानवीय सभ्यता, संस्कृति, भाषा जातीय पहिचान तथा धार्मिक पहिचानको अस्तित्व माथि नै प्रश्न उब्जाएको छ । बहुल राष्ट्रिय सहअस्तित्ववादले सबैको अस्तित्व स्वीकार गर्दछ । यसले एक सभ्यताले अर्को भिन्न सभ्यताको अस्तित्व स्वीकार्न र सम्मान गर्दछ । बहुल राष्ट्रिय सहअस्तित्ववाद भनेको सबै अस्तित्व र पहिचान स्वीकारी सम्मान गर्नु हो । (Pluri-national co-existentialism refers  the acceptance and honor of all the civilization and identity)

बहुल राष्ट्रिय सहअस्तित्ववादले पछिल्लो समयमा निकै महत्वपूर्ण स्थान लिएको छ । २१ औं शताव्दीको शुरुवात अघि नै केहि देशहरुमा सैद्धान्तिक रुपमा गहन छलफल र बहस भएको पाइन्छ    । बिशेष Latin American देशहरु इकुईडोर र बोलिभियाले यो सिद्धान्तलाई व्यवहारिकरुपमा प्रयोग गरेका छन् । इकुईडोरका राष्ट्रपति राफेल कोरिया यसलाई यसरी परिभाषित गरेका छन् : “राज्यभित्रका सम्पूर्ण राष्ट्रियताहरुको सहअस्तित्व जहाँ विभिन्न जाति, संस्कृति र विचारहरुको पहिचान सहितको अस्तित्वलाई जनाउदछ । बहुल राष्ट्रिय सहअस्तित्ववाद भन्नाले राज्यले दुई वा सो भन्दा बढी जातिहरुको सहअस्तित्वलाई संरक्षण गर्नु हो” भनी परिभाषित गरेका छन् ।

७. निष्कर्ष र टुङ्ग्याउनी

यो मार्गनिर्देशक सिद्धान्त मात्र हो ।
यसमा हामी सबैको वैचारिक बहस र योगदान को आवश्यकता छ ।
हामी सबैको मेहनत र योगदानले पहिचानवादीहरुको वैकल्पिक सिद्धान्तको रुपमा यसलाई स्थापित गरौं ।

 

Bahul Rastriya Saha ashtitwabad final – Download


  • Share this post:
  • Facebook
  • Twitter
  • Delicious
  • Digg

Tags: ,

No Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>

More Posts