लिम्बुवान केन्द्रीय सचिवालयको निर्णयहरू

मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषदको यही भाद्र २० र २१ गते बसेको केन्द्रीय सचिवालयको बैठकले निम्न निर्णयहरू गरेको छ:
प्रेस-विज्ञप्ति (मिति: २०७०|०५|२२):१. अहिले ४ दल र केही पार्टीहरूबीच भएको भनिएको सहमतिले केही सवालहररू थपेको छ | ५ महिनाअघि नै समानुपातिक सिट संख्या बढाएको भए परिस्थिति केही सहज हुन्थ्यो | तर, उल्लङ्घन गरिएका संविधानका तिनै विषयहररूलाई ट्रयाकमा ल्याउन मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद (सलिराप) लगायत ३३ दलले निर्वाचन आयोगमा पार्टी दर्ता नगरेर ऐतिहासिक साहसका साथ आन्दोलनको मोर्चा सम्हाल्यो | हाम्रो अधिकांश समय आन्दोलनमा बितेको छ |

सडकमा आन्दोलन गरिरहेका शक्तिहरूलाई बाइपास गरेर देशले निकाश पाउन सक्दैन | सर्वदलीय राष्ट्रिय राजनैतिक सम्मेलन (गोलमेच ) मार्फत मञ्च सम्बद्ध सलिराप र ३३ दलसंग नयाँ राष्ट्रिय राजनैतिक सहमति गरेर चुनावको नयाँ मिति तोकेपछि मात्र देशले निकाश पाउँछ | नयाँ सहमति नभइन्जेलसम्म मञ्च सम्बद्ध सलिराप मङ्सिर ४ को कथित चुनावको बिरुद्धमा छ, मङ्सिरको चुनाव चुनाव होइन, यो अहिलेसम्मको राजनैतिक उपलब्धिहररूलाई ध्वस्त गर्ने नौटंकी मात्र हो |

२. आजकै मितिदेखि संखुवाखोला-अरुण-सप्तकोशीपूर्वका ९ जिल्ला लिम्बुवानमा मङ्सिर ४ को कथित चुनावका सबै गतिविधिहरू बन्द गर्न सम्बद्ध सबैलाई आग्रह गर्दछौं; बन्द गरियोस् भनी चेतावनी दिन चाहन्छौ | नत्र लिम्बुवानी जनताले त्यस्ता गतिविधिको कडा बिरोध र प्रतिरोध गर्ने जानकारी गराउँदछौ | जबर्जस्त चुनाबी गतिबिधि बढाए लिम्बुवानी जनताले प्रतिकार गर्दा हुने सम्पूर्ण क्षतिको जिम्मेवारी कथित चुनावमा जान तम्सिनेहरू नै हुनुपर्नेछ |

संघीयताको सवालमा लिम्बुवान एउटा ज्यूँदो भूमि हो | नेपालको इतिहासमा आफ्नो भूमि, अस्तित्व र स्वायत्तताको लागि लिम्बुवानले सबैभन्दा धेरै संघर्ष गरेको छ | सिरिजङ्गा, काङ्सोरे, महागुरु फाल्गुनन्द, इमानसिङजस्ता महापुरुषहरूको अधुरो सपना आज पनि लिम्बुवानको बस्तीहररूमा ज्यूँदो छ | यो ज्यूँदो लिम्बुवान भूमिलाई पद र पैसाको लागि भर्याङ नबनाउन सबैलाई आग्रह गर्दछौं | लिम्बुवान भूमि माथिको लुट, अन्याय, अत्याचार अति भैसक्यो र लिम्बुवान अन्तिम बिद्रोहको मनस्थितिमा रहेको सबैलाई अवगत गराउँदछौं |

३. संघीय गणतन्त्र नेपाल, धर्मनिरपेक्ष राज्य र लिम्बुवान बिरोधी मङ्सिर ४ को चुनावमा नजान ९ जिल्ला लिम्बुवान भित्रका सबै पार्टीहरूको विभिन्न तहमा हप्ता दिनभित्र पत्राचार गर्ने, छलफल गर्ने र जबरजस्ती गएमा लिम्बुवानी जनताले प्रतिकार गर्ने जानकारी-पत्र दिने |

४. मञ्च सम्बद्ध सलिराप सदस्य रहेको ३३ दलीय मोर्चाले घोषणा गरेको आन्दोलनको निम्न कार्यक्रमहरूलाई सफल बनाउन सशक्त तरिकाले लागि पर्ने-
क. भाद्र २७ गते ९ जिल्ला लिम्बुवान र पूर्वका थप जिल्लाहरू सशक्त बन्द गर्ने,
ख. असोज ३ गते इटहरी मा विशाल आमसभा गर्ने,
ग. असोज ९ र १० गते नेपाल बन्द |

५. मञ्च सम्बद्ध सलिरापले लिम्बुवान आन्दोलनका शहीद परिवार र घाइतेहरूलाई सम्मान गर्दै परिषदको विधान अनुसार निम्न पदहरूमा मनोनयन गरेको छ :
क. सुनमाया लिम्बु आङ्देम्बे (शहिद राजकुमार आङदेम्बे ”माङ्तोक” को जीवनसाथी ) लाई राष्ट्रिय पार्षद सदस्य,
ख. भरत तामाङ (शहिद मनिल तामाङ का बुबा ) लाई राष्ट्रिय पार्षद सदस्य,
ग. दुर्गा वनेम (२०६३ मङ्सिर २६ गतेको पहिलो लिम्बुवान बन्दमा इटहरीमा एकात्मकवादीसंग भएको झडपमा एउटा आँखा गुमाएका जिउँदो शहीद) लाई राष्ट्रिय पार्षद सदस्य |

६. लिम्बुवानको सबै निर्वाचन क्षेत्रमा मङ्सिर ४ को कथित चुनावलाई प्रतिरोध गर्न ३३ दलीय प्रतिरोध समिति निर्माण गर्ने | मञ्च सम्बद्ध सलिरापले लिम्बुवानका सबै निर्वाचन क्षेत्रमा प्रतिरोध आन्दोलनलाई सशक्त बनाउन इन्चार्ज र सह-इन्चार्जहरू नियुक्त गर्ने |

७. सुनसरी जिल्ला समितिले शिफारिस गरेका व्यक्तिहरूलाई निम्न पदहरूमा मञ्च सम्बद्ध सलिरापको विधान अनुसार नियुक्त गरिएको छ :
क. स्वर्णिमहाङ फोम्बो- केन्द्रीय सदस्य
ख. धनपति चोङ्बाङ क्याक– वैकल्पिक केन्द्रीय सदस्य
ग. रणहाङ एभेङ– वैकल्पिक केन्द्रीय सदस्य
घ. नगेन्द्र चेम्जोङ– वैकल्पिक केन्द्रीय सदस्य
ङ. प्रकाश भुजेल– राष्ट्रिय पार्षद सदस्य
च. मधुरलाल चौधरी– राष्ट्रिय पार्षद सदस्य
छ. पञ्चबहादुर साम्याङ्खाम– राष्ट्रिय पार्षद सदस्य
ज. सावित्र पङ्धाक– राष्ट्रिय पार्षद सदस्य |

यसरी नै उपत्यका समितिले सिफारिस गरेका निम्न व्यक्तिहरूलाई तपशीलका पदहरूमा विधान अनुसार नियुक्ति गरिएको छ:
क. एविश्चा (चन्द्रिका) लाबुङ – राष्ट्रिय पार्षद सदस्य,
ख. शिशिर निङ्लेकु – राष्ट्रिय पार्षद सदस्य,
ग. तारा लावती – राष्ट्रिय पार्षद सदस्य |

मञ्च सम्बद्ध सलिराप र ३३ दलले घोषणा गरेको आन्दोलनको कार्यक्रमहरूलाई सदाझैँ सम्पूर्ण लिम्बुवानी नेपाली जनसमुदायले साथ दिई सफल बनाउनु हुनेछ भन्ने आग्रह गर्दछौं |

जय लिम्बुवान !
संघीय अभिवादन !!


 
……………….
कुमार लिङ्देन ‘मिराक’
केन्द्रीय अध्यक्ष
मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद

 Circular of FDNF FLSC on Secretariat Meeign of 05-06 Sept_Page_1

  • Share this post:
  • Facebook
  • Twitter
  • Delicious
  • Digg
No Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>

More Posts